दुई किशोरी मृत्यु प्रकरण : सिआइबीले थाल्यो स्थलगत अनुसन्धान

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

अछाममा दुई किशोरीको मृत्यु घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ । अनुसन्धानका लागि सिआइबीबाट इन्स्पेक्टरको नेतृत्वमा टोली खटिएको छ । 

जिल्लाको ढकारी– ८ घोडासैनका सरस्वती खड्का र ईशरा खड्का गत शनिबार मृत भेटिएका थिए । शरीरमा चोटपटकसमेत रहेकाले उनीहरूको हत्या भएको आशंका गरिएको छ । 

घटना गम्भीर प्रकृतिको भएपछि सिआइबीबाटै टोली खटाइएको हो । सिआइबीका इन्स्पेक्टर सूर्यबहादुर शाही र सइ श्रीभक्त श्रेष्ठसहितको घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो । टोली घटनास्थल अछामको ढकारी गाउँपालिका– १ छिन्ने वडारस्थित जंगल र मृतकको गाउँ ढकारी– ८ घोडासैनको पल्साता क्षेत्रमा परिचालित रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले नयाँ पत्रिकालाई जानकारी दिए । 

 सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको टोली पनि अछाममै छ । घटनाको त्रुटिरहित अनुसन्धानका लागि प्रहरीले सबैखाले संयन्त्रको प्रयोग गरी संवेदनशील रूपमा अनुसन्धान थालेको डिएसपी भण्डारीले बताए । स्रोतका अनुसार सिआइबीको टोलीले पहिलो चरणमा घटनास्थलको अध्ययनसँगै मृतकका आफन्तसँग सोधपुछ गरिरहेको छ ।

१५ वर्षीया सरस्वती र १४ वर्षीया ईशरा फुपू–भदै हुन्। गोठालो जाँदा जंगलमा हराएका उनीहरूको खोजी गर्दा पछि शव भेटिएको थियो। 

पाँच  दिनपछि दाहसंस्कार 
मृत भेटिएकी सरस्वती खड्का र ईशरा खड्काको बुधबार दाहसंकार गरिएको छ ।  शवको  पोस्टमार्टम सकिएपछि दाहसंस्कार गरिएको हो । 

 स्थानीय विद्या प्रबोधनी माविमा कक्षा आठमा अध्ययरत उनीहरूको हत्या गरिएको भन्दै आफन्तले दुईजना बालकविरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी परेकाहरू १५ र १७ वर्ष उमेरका बालक छन् । उनीहरू दुवैजना ढकारीकै गुरुकुल माविमा कक्षा आठ र १० मा पढ्ने विद्यार्थी हुन् । मृतक सरस्वतीका ठुलोबुबा तथा ईशराका हजुरबुबा नाता पर्ने अवि खड्काले दिएको किटानीमा उनीहरूकै योजना र संलग्नतामा घटना घटाइएको उल्लेख छ । प्रहरीले भने अनुसन्धान पूरा नभई केही बोल्न नमिल्ने बताएको छ । 

मृतक र उनीहरूबिच फोन, फेसबुक र भेटमा कुराकानी हुने गरेकोसमेत किटानीमा लेखिएको छ । यस घटनाका सम्बन्धमा प्रहरीले अन्य केही व्यक्तिसँग पनि सोधपुछ गरेर छाडेको छ । 

 घटना घटेको अघिल्लो रात किटानी गरिएकाहरू वास बसेको घरका आफन्त र छिमेकीसँग प्रहरीले सोधपुछ गरेको हो । मृतक किशोरीहरूको शव भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम गरिएको छ, तर रिपोर्ट आउन बाँकी छ । रिपोर्टबाट मृत्युको कारण खुल्ने र अनुसन्धान सहज हुने प्रहरी अधिकारी बताउँछन् ।  

सुझावित समाचार