सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति पौडेल

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।

सहिद दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।

वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्यांकन गर्दै सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ–आफ्नोतर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ।

‘सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ शुभकामना सन्देशमा उनले भनेका छन्।

नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणाशासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरांगनाहरूप्रति सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ।

‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आमजनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु,’ राष्ट्रपति पौडेलले भनेका छन्।

सुझावित समाचार