प्रहरी विधेयकः बढुवाको मूल्यांकन प्रणालीमा व्यापक हेरफेर

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीको बढुवाको मूल्यांकन प्रणालीमा व्यापक हेरफेर हुने भएको छ। गृह मन्त्रालयले मंगलबार संसदमा दर्ता गरेको विधेयकमा बढुवा समितिले दिने अंक घटाएर कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताबापतको नम्बर बढाइएको छ। 

यसअघि बढुवामा सय पूर्णांकमध्ये बढुवा समितिले अधिकतम ७.५ अंक दिन सक्ने प्रावधान थियो । त्यसलाई घटाएर ३ अंक राखिएको छ । बढुवा समितिको स्वविवेकी अधिकार धेरै हुँदा बढुवामा चलखेल भएको भन्दै प्रहरीकै प्रस्तावमा सो अंक घटाइएको हो । 

त्यस्तै, नयाँ विधेयकमा कार्यसम्पादन मूल्यांकन सयमध्ये ५० नम्बर राखिएको छ । यसअघि कार्यसम्पादनको बढीमा ४० सम्म दिन सकिने उल्लेख थियो। ज्येष्ठताबापत २२ अंक रहेकोमा त्यसलाई बढाएर २७ राखिएको छ । 

शैक्षिक योग्यताबापतको नम्बर घटाइएको छ। यसअघि १० अंक रहेकोमा अब राजपत्र अनंकितलाई ५ र राजपत्रांकित कर्मचारीको हकमा ७ अंक राखिएको छ । 

तालिमबापतको अंक पनि हेरफेर भएको छ । यसअघि ७.५ रहेकोमा राजपत्र अनंकितलाई १० र राजपत्रांकितलाई ५ अंक दिइएको छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापतको ८ नम्बर हटाइएको छ भने चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापतको ५ नम्बर कायमै राखिएको छ। 

नयाँ विधेयकमा प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने तथा वरिष्ठ हवल्दारसम्मका प्रहरीलाई १६ वर्षकै उमेरमा पेन्सन दिने प्रावधान राखिएका छन्। 

यस्तो छ विधेयकः

सुझावित समाचार