राष्ट्रिय गौरवको आयोजना खाँदबारी—किमाथांका सडक ‘ब्रेक थ्रु’ भएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीदेखि चीनको तिब्बत जोड्ने किमाथांकासम्मको १६२ किमि सडक सेनाले सोमबार छिचोलेसँगै भारत–चीन जोड्ने अर्को उत्तर–दक्षिण करिडोर तयार भएको छ । नेपाल र चीनबिच बिआरआईअन्तर्गत सहकार्यका १० मध्येको यो सडकको स्तरोन्नति भएपछि भारत र चीन जोड्ने महत्वपूर्ण सडकमार्ग बन्नेछ ।
सोमबार भोटखोला गाउँपालिकाको च्याम्ताङ पुगेर संघीय सरकारका तीन मन्त्रीको उपस्थितिमा सडक छिचोलिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र ऊर्जामन्त्री दीपक खड्का सडकको ‘ब्रेक थ्रु’का लागि पुगेका थिए ।
भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले खाँदबारी–किमाथांका सडकखण्डको काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने बताए । सडकको स्तरोन्नति र बाँकी रहेको काम पूरा गर्न सरकारले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । ऊर्जामन्त्री खड्काले यो सडकले त्रिदेशीय पारवहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै अन्य देशले पनि यसबाट फाइदा लिन सक्ने उनको भनाइ छ । रक्षामन्त्री मानवीर राईले बाँकी रहेको सडकको काम चाँडै सम्पन्न गर्न सेनालाई निर्देशन दिए । चीन जोड्ने पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र मध्य नेपालको केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
कार्यक्रममा सेनाका अधिकारीले सडक निर्माणको प्रगतिबारे जानकारी दिएका थिए । सेनाले सडक निर्माणका लागि बजेट अपर्याप्त रहेको भन्दै बजेट सुनिश्चित भएमा सडक चौडाइको काम शीघ्र सम्पन्न गर्ने जनाएको छ ।
पहिलोपटक भारतको जोगबनीदेखि संखुवासभाको सदरमुकाम खाँदबारी—किमाथांका हुँदै चीन जोडिएको हो । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत ३४५ किमि त्रिदेशीय लिंकको रूपमा रहेको यो सबैभन्दा छोटो राजमार्ग हो । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पा खण्डको साढे १० किलोमिटर ट्र्याक खोल्ने जिम्मा पाँच वर्षअघि सेनाले पाएको थियो । अहिले सेनाले सिंगल लेनको सडकको ट्र्याक खोलेको छ । चैत्र मसान्तसम्म डबल लेनको ट्र्याक खोलेर सरकारलाई बुझाउने तयारी छ । खाँदबारीदेखि किमाथांकासम्म विभिन्न प्याकेजमा तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख इन्जिनियर रामबहादुर गुरुङले बताए ।
खाँदबारी—किमाथांका सडक जोडिएसँगै पूर्वी पहाडी जिल्लाका स्थानीयहरू उत्साही बनेका छन् । संखुवासभासहित धनकुटा, तेह्रथुम र भोजपुरवासीहरू प्रत्यक्ष लाभान्वित हुने भएकाले पनि उनीहरू उत्साही छन् । नेपाल—चीन जोडिएको उत्तरी क्षेत्रका अन्य १४ नाकाभन्दा सबैभन्दा छोटो जोगबनी—किमाथांका ४५ किमि छ, जुन बाह्रै महिना चल्न सक्ने मानव बस्तीसहितको नाका हो । खाँदबारीदेखि किमाथांकासम्मको सडक विस्तारको काम गर्न ०६६ मा उत्तर–दक्षिण कोशी सडक आयोजना सुरु भएको हो । आयोजना सुरु भएको १५ वर्षपछि नाका जोडिएको छ ।