दोस्रो दिन पनि कांग्रेस कार्यालय सानेपामा धर्ना

सर्लाही सभापति सिंहलाई कारबाही मागमा नेतृत्वको निरन्तर बेवास्ता

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा दोषी ठहर कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहलाई जिम्मेवारीबाट हटाउन माग गर्दै पार्टी कार्यालय सानेपामा सुरु भएको धर्ना दोस्रो दिन पनि निरन्तरता पाएको छ । पटक–पटक नेतृत्वलाई ध्यानाकर्षण गराँउदा पनि बेवास्ता गरेपछि सर्लाही कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा धर्ना थालेको हो ।

धर्नामा सहभागी कांग्रेस सर्लाही उपसभापति नवीन अधिकारीले दोस्रो दिनमा पनि मागका विषयमा नेतृत्व तहबाट कुनै प्रतिक्रिया नआएको बताए । आइतबार भने महामन्त्री विश्वप्रकाश शर्माले टेलिफोन सम्पर्क गरेर मागप्रति गम्भीर रहेको र पूरा गर्ने प्रतिबद्धता जनाएको बताएका थिए । त्यसबाहेक माग पूरा गर्न ठोस छलफल र प्रस्ताव आएका छैनन् । पार्टी नेतृत्वसमक्ष पटक–पटक सिंहलाई विधानअनुसार जिम्मेवारीबाट हटाउन माग गरे पनि निरन्तर बेवास्ता गरेपछि बाध्य भएर धर्नामा थाल्नुपरेको उनको भनाइ छ । यसपटक भने माग पूरा नभएसम्म धर्ना निरन्तर रहने उनीहरूको भनाइ छ । ‘हामीले धेरैपटक पार्टी नेतृत्वलाई विधानको व्यवस्थाअनुसार जिम्मेवारीबाट हटाउन आग्रह ग¥यौँ । तर, नेतृत्वले यता आश्वासन दिने र उता संरक्षण गर्ने ग¥यो । नेतृत्वलाई हामी बाध्य भएर धर्ना सुरु गरेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘आइतबार महामन्त्री विश्वप्रकाश शर्माले टेलिफोन सम्पर्क गरेर । माग पूरा गर्न प्रतिबद्ध छौँ भन्नुभएको थियो । त्यसबाहेक नेतृत्वले हाम्रा मागका विषयमा कुनै छलफल गरेको छैन ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मागलाई पार्टीले गम्भीर रूपमा लिएको बताए । धर्नारत समूहलाई पार्टी बैठकबाट निर्णय हुने भन्दै धर्ना रोक्न आग्रह गरेको जिकिर गरे । तर, उनीहरू धर्ना रोक्न तयार नदेखिएको र यसबारे पार्टीमा छलफल भइरहेकोे बताए । ‘पार्टीले उहाँहरूको मागलाई सिरियसली लिएको छ । कांग्रेसका नेतृत्वको आदेशका भरमा कारबाही गर्ने या सम्मान गर्ने प्रचलन छैन । यसलाई पार्टीको केन्द्रीय कार्यसमिति बैठक वा कार्यसम्पादन बैठकबाट टुंगो लगाउनुपर्छ । अहिले पार्टीको बैठक बसेको छैन । बैठक बसेपछि निर्णय हुन्छ । उहाँहरूलाई हामीले घर जानुस् बैठकबाट निर्णय हुन्छ भनेका छौँ,’ उनले भने ।

यसअघि २४ पुसमा सानेपामा धर्ना थालिएको थियो । अनुशासन समिति संयोजक आनन्द ढुंगाना, समिति सदस्य सञ्जय गौतम, मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको आन्तरिक विषय भएकाले पार्टी नेतृत्वसँग छलफल गरेर २८ पुसभित्र माग पूरा गर्ने बताएपछि धर्ना रोकिएको थियो । ‘यसअघि हामीले माग पूरा होला भनेर गर्ने पार्टी केन्द्रीय अनुशासन समिति संयोजक, मुख्यसचिवलगायतले आग्रह गरेपछि धर्ना स्थगित ग¥यौँ, तर मागमाथि कुनै सुनुवाइ भएन । यसपटक भने माग पूरा नभएसम्म घर फर्कँदैनौँ,’ उनले भने ।

सिंहलाई कारबाहीका लागि ११ महिने अवधिमा कांग्रेस सर्लाहीले केन्द्रीय कार्यालयमा दुईपटक औपचारिकपत्र पठाएको थियो । सभापति शेरबहादुर देउवानिकट मानिने कांग्रेस सर्लाही सभापति सिंह वन मासेर भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्च अदालतबाट समेत सजाय पाएपछि पनि जिल्ला सभापतिकै हैसियतमा सक्रिय छन् ।

सुझावित समाचार