माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार तेह्रथुम जाने भएका छन्। तेह्रथुममा पार्क तथा संग्रहालयको शिलान्यास र सालिक अनावरणको कार्यक्रम छ ।
सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा उनी सहभागी हुनेछन् । प्रचण्डसँगै माओवादी केन्दका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदै छन् ।
प्रचण्डले आज लालीगुराँस नगरपालिका– ७ लसुनेस्थित सहिद धनरूपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी आठराई जानेछन् । प्रचण्डले आठराई गाउँपालिका– ३ ह्वाकु बगाले सहिद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उक्त स्थानमा ०५८ साल माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र तीन सर्वसाधारण सामूहिक रूपमा मारिएका थिए । पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निःशस्त्र लडाकुहरू उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।
प्रचण्डले आजै आठराई– २ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन ।
मंगलबार बिहान आठराई– ६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको सालिक अनावरण गर्नेछन् । दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।