ताप्लेजुङको पाथीभरा धार्मिक क्षेत्रमा केबलकार बनाउन नदिने भन्दै अवरोधमा उत्रिएपछि प्रहरीसँग भएको झडपमा घाइते भएका तीनजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
केबलकार बनाउन नदिन लागिपरेको ‘नो केबलकार’ समूह र प्रहरीबिच शनिबार भएको झडपमा घाइते भएर तीनजनालाई उपचारका लागि विराटनगर ल्याइएको थियो। उनीहरूलाई आइतबार दिउँसो थप उपचारका लागि काठमाडौं लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी इनरदेव यादवले जानकारी दिए।
दोहोरो झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका यामबहादुर लिम्बू र सगुन लावती तथा भिरबाट लडेका धर्मान पालुङवालाई उपचारका लागि शनिबार साँझ विराटनगरको कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । तर, अवस्था गम्भीर भएकाले काठमाडाैंबाट सेनाको ‘स्काई ट्रक’ झिकाएर आइतबार नै थप उपचारका लागि काठमाडाैं लगिएको सिडिओ यादवले बताए।
चिकित्सकहरूका अनुसार लावतीको छातीमा र यामबहादुरको तिघ्रामा गोली लागेको छ। यस्तै, झडपका क्रममा भिरबाट लडेका पालुङवाको कुम भाँच्चिएको छ। शनिबार साँझ भएको उक्त घटनामा १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएका थिए।