स्ट्राइकर रश्मिकुमारी घिसिङ चम्किएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब राष्ट्रिय लिग २०२४–२५ को फाइनलमा प्रवेश गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि २–१ को पुनरागमन जित निकाल्दै एपिएफ उपाधिनजिक पुगेको हो । जितसँगै एपिएफले लिगमा अपराजित यात्रालाई कायमै राखेको छ ।
एपिएफविरुद्ध लिगमा आर्मीको यो चौथो हार हो । दोस्रो चरणमा दुई तथा पहिलो चरणमा एकपटक एपिएफले खेल जितिसकेको छ । पहिलो क्वालिफायरमा रश्मिले पूर्वक्लबविरुद्ध १० मिनेटको अन्तरालमा दुई गोल गरेपछि एपिएफले फाइनल सुरक्षित गरेको हो । समग्रमा २७ खेल खेल्दा रश्मिले यो लिगमा ३६ गोल गरिसकेकी छिन् । एपिएफले अब फाइनलमा आर्मी र नेपाल पुलिसबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल माघ १६ गते बुधबार हुनेछ । अब, सोमबार आर्मीले दोस्रो क्वालिफायरमा पुलिसको सामना गर्नेछ ।
एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले रणनीति परिवर्तन गर्दा आर्मीविरुद्ध सफल भएको बताए । ‘रणनीति परिवर्तन गरेसँगै आर्मीविरुद्ध सफल भयौँ । रक्षापंक्तीमा धेरै गल्ती भएपछि अट्याकबाट दबाब दिने रणनीति थियो । त्यसमा सफल हुँदा फाइनलमा स्थान बनायौँ,’ पाण्डेले भने, ‘रश्मिले पाएको अवसरमा गोल पनि गर्न सक्यो । अन्तिम १४ मिनेट नै भएपछि दबाबमा थिइन् । जसरी पनि गोल फर्किन्छ भन्ने आत्मविश्वास थियो ।’ आर्मीका प्रशिक्षक कृष्णसिंह ठगुन्नाले दबाब थेग्न नसक्दा हार व्यहोरेको बताए । ‘हाम्रा नयाँ खेलाडीले दबाब थेग्न सकेनन् । पुराना खेलाडीले राम्रो खेलेको हो,’ उनले भने, ‘यस्ता खेलमा अनुभव धेरै चाहिन्छ । हामी त्यसमा चुक्यौँ । अब, बाँकी खेल जित्दै फाइनलमा पुग्नेछौँ ।’
आर्मीको अग्रता
पहिलो क्वालिफायरमा एपिएफविरुद्ध आर्मीले अप्रत्याशित अग्रता बनायो । मिडफिल्डर हिमा चौधरीले खेलको आठौँ मिनेटमै अग्रता बनाइन् । गोलकिपर सावित्री किसनले गरेको गल्तीको फाइदा हिमाले उठाउँदै सहजगोल गरेकी हुन् । त्यसपछि एपिएफ खेलमा दबाब आयो । गोल फर्काउन दोस्रो हाफ कुर्नुपर्यो । आर्मीले भने काउन्टरमा दबाब दिइरह्यो । सहायक सेनानीको तालिममा रहेकी स्ट्राइकर अमिषा कार्कीलाई झिकाउँदा आर्मीलाई फाइदा पुगेको थियो । अमिषाले फाइनल थर्डमा दबाब सिर्जना गरिरहिन् । एपिएफकी गोलकिपर सावित्री किसन र रक्षक गीता रानाले भने खेलभरि व्यस्त रहे । एपिएफले खेलको ७८औँ मिनेटमा बराबरी गोल फर्कायो । निशा थोकरको हेडरलाई नियन्त्रण गर्ने क्रममा रक्षक विमला विकले गल्ती गर्न पुगिन् । उनको ब्याक हेडरलाई रश्मिले भली गोल गरेकी हुन् । आर्मीकी गोलकिपर अञ्जना रानामगरले त्योे बललाई रोक्न सकिनन् । खेल सकिन दुई मिनेटअघि रश्मिले विजयी गोल गरिन् । अनिता केसीले मध्यभागबाट प्रीति राईलाई बल निकालिन् । प्रीतिको चलाखीपूर्ण पासलाई रश्मिले सहजै गोल गर्न सफल भएकी हुन् । गोलकिपर अञ्जना रश्मिलाई रोक्ने प्रयासमा भए पनि सफल रहिनन् । खेलको प्लेयर अफ दी म्याच प्रीति राई नै घोषित भइन् ।