स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई ३ प्रश्न

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

पाठेघरको मुखको क्यान्सरविरुद्ध अभियानबारे बताइदिनुहोस् न । 
नेपालमा हरेक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरकै कारण ज्यान गइरहेको छ । साथै, यो रोग लागिसकेपछि हुने आर्थिक व्ययभार र सामाजिक भेदभावको पीडा अलग्गै छ । सातदेखि आठ हजारसम्म पर्ने खोप महँगो पनि छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले हामीलाई आवश्यक झन्डै साढे सत्र लाखजति खोप उपलब्ध गरायो । देशभरका विद्यालयमा कक्षा ६ देखि १० सम्मका बालिकाको संख्या झन्डै १६ लाख ८८ हजार र विद्यालयबाहिर पनि १० देखि १४ वर्ष उमेर समूहका बालबालिका रहेको हुनसक्ने भएकाले त्यसैअनुरूप तयारी गरिएको छ । विश्व क्यान्सर दिवस फेबु्रवरी ४ अर्थात् २२ माघदेखि १५ दिनसम्म यो अभियान चल्छ । त्यसका लागि खोप सम्बन्धित जिल्लामा पठाइसकिएको छ । जिल्लाले फरकफरक पालिकामा फरकफरक दिनमा खोप लगाउने व्यवस्था गरेका छन् । यसबाट आफ्नो पालिकामा खोप लगाउन छुटेको अवस्थामा नजिकको अर्को पालिकामा गएर पनि लगाउन सकिन्छ । 

कक्षा ६ देखि १० अथवा १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गर्नुको कारण के हो ?
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) यौन जीवनमा सक्रिय पुरुषबाट महिलामा सर्छ । तर, पुरुषमा चाहिँ यसको लक्षण देखिन्न । यसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराउँछ । त्यसैले, हामीले सामान्यतः यौनजीवनमा सक्रिय भइनसकेका उमेर समूहका बालिकालाई लक्षित गरेर यो खोप अभियान सुरु गर्न लागेका हौँ । 

यसको प्रभावकारिता र ‘साइड इफेक्ट’ कस्तो छ ?
१० वर्षसम्मको रिसर्चले यसको सफलता ९४ देखि ९७ प्रतिशतसम्म देखाएको छ । साइड इफेक्टमा कसैकसैमा एलर्जी हुन सक्छ । त्यसैले, खोप लगाएपछि आधा घण्टासम्म खोपकेन्द्रमै बसेर मात्र घर जान पाइन्छ । सुई लगाएको ठाउँमा हल्का सुन्निने र एक–दुई दिनसम्म दुख्न सक्छ ।
 

सुझावित समाचार