राजन रोकाया र सन्तोषी श्रेष्ठले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा सम्पन्न प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा विभागीय टोली आर्मीका राजन र महिलामा धादिङकी सन्तोषी पहिलो भएका हुन् । दुवैको तेस्रो यो सहभागिता हो । तेस्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोस्रोमा दोस्रो भएका थिए । पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोस्रो र तेस्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए । निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे । राजनभन्दा पाँच सेकेन्डले पछि आर्मीकै खडकबहादुर खड्का दोस्रो भए । वाहोमका जुलियस मुरलुकी तेस्रो बने । आर्मीका मुकेशबहादुर पाल चौथो र सुशीलकुमार शाही पाँचौँ भएका छन् ।
सन्तोषी तेस्रोपटक च्याम्पियन
दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता तथा ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । सन्तोषी पहिलो र तेस्रो संस्करणको पनि विजेता हुन् । सन्तोषीले नखेलेको दोस्रो संस्करणमा फूलमती राना पहिलो भएकी थिइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २२ मिनेट ५१ सेकेन्डसहित दोस्रो भइन् । एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौँ स्थानमा दौड टुंगाए । पुरुष÷महिला दुवैको च्याम्पियनले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौँले समान ३० हजार नगद पुरस्कार प्राप्त गरे ।
१० किलोमिटरमा सञ्जय प्रथम
नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०.०७ सेकेन्डमा दौड सकाए । दोलखाका मिङमार शेर्पा (३१ मिनेट ०८.४० सेकेन्ड) दोस्रो तथा आर्मीका दीपक अधिकारी (३१ मिनेट १७.२९ सेकेन्ड) तेस्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपिएफका सन्तोषविक्रम विष्ट पाँचौँ भए । पहिलोले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ १० हजार नगद पुरस्कार जिते । महिला पाँच किलोमिटर दौडमा एपिएफकी फूलमती राना पहिलो भइन् ।
एपिएफका आशा रावत दोस्रो तथा दीपा परियार तेस्रो भए । विद्यालयतर्फ (कक्षा १२ सम्म) पाँच किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा पहिलो भए । कृष्णबहादुर परियार दोस्रो, सम्राट कोयाहाङ लिम्बू चौथो तथा पुकारजंग बस्नेत पाँचौँ भए ।
व्हिलचेयरको पुरुषमा रमेश खत्री पहिलो भएका छन् । महिलातर्फ ऐश्वर्यकुमारी कुमाल पहिलो भएकी हुन् । विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला तीन किलोमिटरमा अस्मिता भुजेल पहिलो भइन् । नारायणी भण्डारी दोस्रो तथा भगवती खड्का तेस्रो भए । पूजा पछाई चौथो र पुष्पा शर्मा पाँचौँ भए । विजेतालाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाललगायतले पुरस्कृत गरेका थिए ।