माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार ०८४ सालसम्मै मिलेर गए माओवादीलाई नै फाइदा पुग्ने बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले आफू जनतामा गइरहेको र जनताले धेरै आशा गरिरहेको भन्दै यो सरकार आगामी चुनावसम्मै गए माओवादीलाई नै फाइदा पुग्ने बताए ।
'अहिले जनताले माओवादी केन्द्रकाे धेरै आशा गरेका छन्, त्यसैले हामी सरकार गिराउनतिर लागेका छैनौं', उनले भने, 'तर, यो सरकार आफ्नै भारीले थिचिएर जान्छ, भन्ने छ । फाल्नका लागि हामी हतारिएको चाँहि विल्कुल होइन । जनतामा गइरहेका छौं । अभियानमा गइरहेका छौं । ८४ सम्म मिलिराखे हामीलाई नै फाइदा छ । तर, जान सक्दैन । विरोध भित्रबाटै सुरु भइसक्या छ ।' माओवादी केन्द्र भित्र पनि केही त्रुटी कमजाेरी भएपनि त्यसलाई सच्चाएर अगाडि बढ्ने उनको भनाई थियो ।
आगामी निर्वाचनमा एक्लै लड्ने
उनले आगामी निर्वाचनमा एक्लै लड्ने र कुनै पनि पार्टीसंग चुनावी गठबन्धन नगर्ने जानकारी दिए । 'आफ्नै खुट्टामा उभिएर आगामी चुनाव लड्ने हो । उभिनै सक्दैन भन्ने भाष्य थियो, विगतको समीक्षा गर्दै एक्लै चुनाव लड्ने भनेका छौं', उनले भने, '०८४ सम्म एमालेसंग सहकार्य गरेर चुनाव लड्ने कुरा सम्भवै छैन । आफ्नै शक्तिको बलमा हामी जान्छौं ।' उपनिर्वाचनमा दोस्रो पार्टी हुन सफल भएको बताउँदै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरे ।