नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौबाट लिग खेल्ने अनुमति पाएकी छिन् । गत भदौमा अनुबन्ध भए पनि अञ्जिला मंसिरमा टोलीसँग जोडिएकी थिइन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४–२५ का लागि अनुबन्ध गरेको हो । दुई पक्षबिचको सम्झौता रकम गोप्य राखिएको छ ।
अनुमति प्राप्त गरेसँगै अञ्जिलाले शनिबार हुने ओएफआईविरुद्ध खेल्ने सम्भावना छ । ‘शुक्रबार पत्र आएसँगै लिग खेल्न अनुमति पाएकी छु,’ उनले भनिन्, ‘कागजपत्र नमिलेपछि निरन्तर अभ्यासमा थिएँ । अब युरोपमा डेब्यु गर्न तयार छु ।’ अञ्जिला सम्मिलित अट्रोमिटौ १० खेलमा दुई जितका साथ ९ अंक जोडेर लिगको नवौँ स्थानमा छ ।
अञ्जिला पहिलोपटक एसियाबाहिरको लिग खेल्दै छिन् । यसअघि उनले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बिताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् । विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन् ।