मस्कको ‘नाजी सलाम’को बचाउ खतरनाक

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

इलन मस्कको नाजी इसाराले ट्रम्पको पुनरुत्थान र फासीवादको आसक्तिसँग जोडिएको गम्भीर एवं थप विचलित पार्ने समस्यालाई संकेत गर्छ

इलेक्ट्रिक कारका व्यापारी इलन मस्क आफ्ना राजनीतिक सहयोगी डोनाल्ड ट्रम्पलाई घमण्डमा उछिन्न दृढ देखिन्छन् । आफ्नो विवादास्पद सामाजिक सञ्जाल प्लेटफर्ममार्फत ट्रम्पलाई ४७औँ राष्ट्रपति बनाउन सहयोग गरेपछि मस्कले राष्ट्रपतीय पदग्रहणका दिन सबैको ध्यान खिचे । एक मागा र्यालीमा उनले अनौठो नृत्य गरे र भिडलाई बधाई दिँदै एक इसारा गरे, जसले मुसोलिनीले लोकप्रिय बनाएको र पछि हिटलरले अपनाएको फासीवादी सलामीको सम्झना दिलाउँछ । 

न्युयोर्क विश्वविद्यालयकी इतिहासकार रुथ बेन–घियातले मस्कको इसारालाई ‘नाजी सलामी र निकै आक्रामक ढंगको’ भनेर एक्समा टिप्पणी गरेकी छिन् । अस्वाभाविक रूपमा एन्टी–डिफेमेसन लिग (एडिएल) ले मस्कको बचाउ गर्दै यसलाई ‘उत्साहको क्षणमा गरिएको असहज इसारा’को मात्रै संज्ञा दिएको छ । मस्कले यी आरोपलाई ‘फोहोरी षड्यन्त्र’ भन्दै खारेज गरे र ‘सबै हिटलर हुन्’ भन्ने आक्रमण धेरै पुरानो भइसकेको पनि बताए । मस्कको इसारासँग जोडिएको यो विवाद समयक्रममा सेलाउनेछ ।

मस्कको उक्साहटपूर्ण इसारामा भएको तीव्र प्रतिक्रिया ट्रम्पको पुनरुत्थान र फासीवादको आसक्तिसँग जोडिएको गम्भीर एवं थप विचलित पार्ने समस्या हो । यसले अमेरिका, युरोप र अन्यत्र केही आपत्तिजनक व्यक्ति नाजीवादको विभीषिकालाई जायज देखाउने प्रयासलाई उजागर गर्छ । मस्कको इसाराप्रति श्वेत–सर्वोच्चतावादी र फासीवादीको प्रफुल्ल प्रतिक्रिया नै मस्कहरूको बढ्दो हिम्मतको प्रमाण हो । जनवरीको सुरुमा मस्कले जर्मनीको उग्र–दक्षिणपन्थी दल एएफडीकी प्रमुख एलिस वेडेलसँग ७० मिनेट लामो मैत्रीपूर्ण संवाद एक्समा प्रत्यक्ष प्रसारण गरेका थिए ।

वेडेलले एएफडीलाई जर्मनीको सोसल डेमोक्य्राट पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारको विकल्पका रूपमा एक पुरातनपन्थी र स्वतन्त्रतावादी पार्टीका रूपमा पुनः परिभाषित गर्ने प्रयास गरेकी छिन् । वास्तवमा जर्मनीको आन्तरिक गुप्तचर निकायले पार्टीको ‘उग्रपन्थी गुट’लाई लोकतन्त्रका लागि खतरा भन्दै निगरानीमा राखेको थियो । एएफडीका नेताले जर्मनीको अँध्यारो इतिहासलाई धुमिल पार्न खोजेका छन् । एक नेताले नाजीले ‘एक हजार वर्षको सफल जर्मन इतिहासमा’ कुनै महत्व राख्दैन भनेका थिए । एक क्षेत्रीय नेताले त बर्लिनको हलोकस्ट (नरसंहार) स्मारकलाई ‘लज्जाको स्मारक’को संज्ञा दिएका थिए । 

वेडेलले हिटलर ‘कम्युनिस्ट’ भएको र आधुनिक पुरातनपन्थीलाई बदनाम गर्न मात्र उनलाई ‘दक्षिणपन्थी’ भनिएको भन्ने खण्डन भइसकेको दाबीलाई प्रवद्र्धन गर्दै आएकी छिन् । मस्कले उनलाई विनारोकटोक मञ्च मात्र दिएनन्, उनले जर्मनीको फेब्रुअरी निर्वाचनअघि उभार लिइरहेको एएफडीलाई आफ्नो प्रभाव र समर्थनसमेत प्रदान गरेका छन् । यसैबिच ट्रम्प समर्थक र फक्स न्युजका पूर्वहोस्ट टकर कार्लसनले आफ्नो पोडकास्टमा ‘सोखिन इतिहासकार’ ड्यारिल कुपरलाई बोलाएर दुई घण्टासम्म इतिहास पुनर्लेखनबारे लामो बहस गराएका थिए ।

सदाबहार उक्साहटपूर्ण शैलीमा कार्लसनले कुपरलाई ‘अमेरिकाको सबैभन्दा असल र इमानदार लोकप्रिय इतिहासकार’को संज्ञा दिएका थिए । कुपरले विन्स्टन चर्चिल, जो द्वितीय विश्वयुद्धमा बेलायतका नेता थिए, तिनलाई ‘प्रधान खलनायक’ भनेर नामकरण गर्नु हास्यास्पद छ र यसो गर्नु इतिहासमाथिको आक्रमण हो । कुपरले हलोकस्टलाई हिटलर र उनका हत्यारा सहयोगीले युरोपबाट एक जाति मेटाउने सुनियोजित योजनाको परिणाम नभई नाजीको प्रारम्भिक र तीव्र सैन्य सफलताको अनिच्छित नतिजा बताएका थिए । 

अधिकांश पीडित यहुदी बालबालिका, महिला र पुरुष थिए, जसलाई नाजीले ‘अप्रत्याशित’ ढंगले समाधान गर्नुपर्ने भएकाले ग्यास क्याम्पमा निसास्सिएर वा भट्टीमा डढाएर मारेका थिए । मस्कले यस अन्तर्वार्तालाई आफ्ना २१ करोड ३० लाख फलोअरमाझ यसलाई ‘धेरै रोचक र हेर्नलायक’ भन्दै साझा गरेका थिए । पछि नाजी समर्थक र सहयोगीलाई सघाएको भन्दै बढेको आलोचनाका कारण मस्कले पोस्ट मेटेका थिए । 

ट्रम्पका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले कार्लसनको समर्थन गर्दै खारेजी संस्कृति ‘क्यान्सल कल्चर’बारे दुःख व्यक्त गरेका थिए । भान्सले कार्लसनको आलोचना गर्न नचाहेको तथ्यलाई रिपब्लिकनको ‘अमेरिका फस्र्ट’ लोकप्रियतावादी राष्ट्रवाद, यहुदीद्वेष र हलोकस्ट अस्वीकृतिको लामो समयदेखिको सम्बन्धलाई दर्साउँछ । यो प्रवृत्ति १९३० को दशकको अन्त्यतिर सुरु भएको हो, जब अमेरिका फस्र्ट अभियानको पहिलो संस्करण चाल्र्स लिन्डबर्गको नेतृत्वमा भएको थियो । लिन्डबर्गलाई आफ्नो पृथक्तावादी र फासिस्ट समर्थक विचारधाराका लागि व्यापक एवं उत्साहपूर्ण समर्थन प्राप्त थियो । 

लेखक र सम्पादक जेकब हेलब्रुनले उल्लेख गरेझैँ ‘१९४० को रिपब्लिकन कन्भेन्सनलाई सम्बोधन गर्ने हर्बर्ट हुवरजस्ता राजनीतिज्ञले मध्य युरोपमा स्थायित्वका लागि हिटलरको शक्तिको प्रशंसा गरेका थिए । यिनले फ्रान्कलिन रुजवेल्टको न्यु डिल र थर्ड रिइच नभएको भए अमेरिकामाथि वास्तविक अधिनायकवाद खतरा रहेको दाबीसमेत गरेका थिए । यो विकृत सोच ट्रम्पको आरोहणका साथ रिपब्लिकन पार्टीमा नवीकरण भएको छ । ट्रम्पका प्रमुख सल्लाहकार जोन केलीले हिटलरले ‘केही राम्रा काम’ गरेको भन्दै प्रशंसा गरेका थिए । 

केहीले एलाइज (दोस्रो विश्वयुद्धका वेलाको बेलायत–अमेरिका–रुस गठबन्धन) साझेदारले ड्रेसडेनमा गरिएको बम आक्रमणलाई हलोकस्टसँग तुलना गर्दै मानवताविरोधी अपराधलाई कम दोषी देखाउने प्रयास गर्छन् । यो रणनीतिले जटिल चुनौतीका लागि सरल समाधान प्रस्ताव गर्ने अतीत र वर्तमानका अधिनायकवादी नेताका कृत्यलाई सामान्य बनाउँछ । तर, इतिहासले हामीलाई यस्ता व्यक्ति र तिनका खतरनाक विचारधाराबाट सचेत रहन चेतावनी दिइरहन्छ ।

(मिट्रोभिचा क्यानडा आधारित पत्रकारिता प्रशिक्षक एवं लेखक हुन्) 
–अल जजिराबाट

 

सुझावित समाचार