खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार राति ९ बजेबाट बिहीबार बिहान ४ बजेसम्म कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका तरकारीमा रहेको विषादी परीक्षण गरेको छ । विभागले प्रयोगशालासहितको मोबाइल ल्याब भ्यान कालीमाटी बजारपरिसरमै लगेर रातभरमा भित्रिएिका तरकारीमा रहेको विषादी परीक्षण गरेको महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए ।
खाद्यको टोलीले २२ प्रकारका तरकारी र फलफूलका एक सय ५० वटा नमुना परीक्षण गरेको जनाएको छ । तरकारी तथा फलपूmलमा ‘इन्जाइम इन्हिबिसन’ विषादीको मात्रा ३५ प्रतिशतसम्म प्रयोग भएको पाइए मापदण्डभित्रै मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिबिसन भेटिए केही दिन भण्डारण गरेर मात्र प्रयोग गर्न पाइने व्यवस्था छ ।
मंगलबार राति परीक्षण गरेकामध्ये चितवनबाट ल्याइएका एक सय १४ किलो हरियो सिमीमा ४२ प्रतिशत इन्जाइम इन्हिबिसन विषादी भेटिएकाले तीन दिनसम्म क्वारेन्टिनमा राख्न निर्देशन दिएको महानिर्देशक कर्णले जानकारी दिए । ‘मंगलबार राति कुल एक सय आठवटा गाडीमा आएका तरकारी तथा फलपूmलमा रहेको विषादी परीक्षण भएको छ,’ उनले भने ।