संकटा क्लब सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा संकटाले सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । संकटाका विदेशी खेलाडी अबेक रिचर्डले दुई तथा चन्दन दासले एक गोल गरे । संकटाले फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल र एपिएफ क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै टोलीलाई खेलाडी अभाव
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सुरु भएको सभापति कपमा सहभागी मच्छिन्द्र र चर्च ब्वाइज टोलीलाई खेलाडी अभावले सताएको थियो । संकटा र चर्च ब्वाइजले बुधबार मात्र टिम पूरा गरेका थिए । ‘खेल सुरु हुनु केही घण्टाअघि मात्रै खेलाडी पूरा गरेका हौँ, विनाअभ्यास खेल्दा गाह्रो भयो,’ चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘मोफसलकै लागि खेलाडी सम्झौता गरेका छौँ । धेरै खेलाडी घाइते पनि भए ।’
उद्घाटन खेलमा संकटा र चर्च ब्वाइजले समान १८ खेलाडी समावेश गरेका थिए । राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले तीन तथा गोलकिपर दीप कार्कीको कप्तानीमा रहेको संकटाले चार विदेशी खेलाडी मैदानमा उतारेका थिए । ‘मैदानमा अभ्यास गर्न पाएनौँ । ब्रिफिङकै आधारमा जित निकाल्न सफल भएको हो,’ संकटाका प्रशिक्षक रवीन्द्र सिलाकार भन्छन् ।
संकटाका अबेकले २१औँ मिनेटमा बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै १–० को अग्रता दिलाए । ७०औँ मिनेटमा अबेकले नै व्यक्तिगत दोस्रो गोल गरी टोलीलाई २–० को अग्रता दिलाए ।