पर्यटकीय गन्तव्य गिडिदह क्षेत्रमा टेलिफोन सेवा विस्तारको माग

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

कर्णालीको नयाँ पर्यटकीय गन्तव्य गिडिदह क्षेत्रमा टेलिफोन टावर स्थापना गर्न माग गरिएको छ । तातोपानी गाउँपालिका- ४ का वडाध्यक्ष अमरबहादुर रोकाया नेतृत्वको टोलीले  सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई गिडिदहमा टेलिफाेन सेवा विस्तार गर्न  माग पत्र पेस गरेका हुन् ।

तातोपानी– ४ स्थित पर्यटकीय क्षेत्र गिडिदह, पानसय पाटन, लामाचौरलगायतका क्षेत्रमा समेटिने गरी टेलिफोन टावर स्थापनाका लागि संघीय सरकार सूचना तथा सञ्चारमन्त्रीसमक्ष माग गरिएको छ । वर्षौँसम्म गुमनाम रहेको पर्यटकीय गन्तव्यलाई तातोपानी प्रवर्द्धन गर्न विभिन्न प्रयास गरिरहेको छ । समुद्री सतहदेखि ३४ सय ८५ मिटर उचाइमा अवस्थित गिडिदह पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ ।

तर, टेलिफोन र इन्टरनेट सेवा नहुँदा पर्यटक सम्पर्कविहीन हुनुपर्ने, भ्रमण अवलोकन गरेको हप्ता दिनपछि मात्रै सामाजिक सञ्जालमा फोटा भिडियो पोस्ट गर्नुपर्नेजस्ता समस्या भोगिरहेका पर्यटकहरूको राहतका लागि गिडिदह क्षेत्रमा टेलिफोन टावर आवश्यक रहेको वडाध्यक्ष  रोकायाले बताए ।
‘पर्या–पर्यटकीय क्षेत्र गिडिदहमा मोबाइल नेटवर्कको अभावले त्यहाँ पुग्ने पर्यटकहरूले सूचना आदान–प्रदान, समन्वय, फोन सम्पर्क गर्न असहजता भोगिरहेका छन्,’ उनले भने, ‘पर्यटकीय क्षेत्र गिडिदहमा टेलिफोन टावर विस्तार गर्न र त्यहाँ पुग्ने पर्यटकलाई टेलिफोन र इन्टरनेटको पहुँचमा पुर्याउनका टावर स्थापनाका लागि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग गर्न अनुरोध गरेका छौँ ।’

तातोपानी गाउँपालिका– ४ नम्बर वडा समिति जुम्लाको पुस २६ गतेको बैठकको निर्णयअनुसार टावर स्थापनाका लागि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमक्ष गिडिदह क्षेत्रमा टेलिफोन टावर स्थापनाका लागि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरिएको रोकायाले उल्लेख गरे ।

गिडिदह नापजाँच तथ्यांकअनुसार,अधिकतम लम्बाइ १५१० मिटर, सतहको क्षेत्रफल २९११ हेक्टर, अधिकतम चौडाई ३१० मिटर, गहिराइ ४२.८ मिटरमा फैलिएको छ । 

सुझावित समाचार