अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रोपटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गरेका छन्।

ब्लुमबर्गको यो हस्तक्षेपले संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसिसिसी)लाई पूर्ण रूपमा वित्तपोषण गर्ने लक्ष्य राख्दछ। यद्यपि, अमेरिकाले आफ्नो योगदान रोकेको छ।

अमेरिकाले साधारणतया युएनएफसिसिसी सचिवालयको बजेटको २२ प्रतिशत योगदान गर्दछ। युएनएफसिसिसीको परिचालन खर्च २०२४/२०२५ मा आठ करोड ८४ लाख युरो अनुमान गरिएको छ।

‘सन् २०१७ देखि २०२० सम्म संघीय गैरकार्यको अवधिमा सहर, राज्य, व्यवसाय र सार्वजनिक क्षेत्रले हाम्रो राष्ट्रको प्रतिबद्धतालाई सम्मान गर्न चुनौती स्वीकार गरेका थिए र अब हामी फेरि तयार छौँ,’ जलवायु महत्त्वाकांक्षा र समाधानका लागि संयुक्त राष्ट्रका विशेष दूत ब्लुमबर्गले एक विज्ञप्तिमा भने।

अमेरिकी संघीय असंलग्नताका कारण सिर्जित खालीपनलाई भर्न ब्लुमबर्गले कदम चालेको यो दोस्रोपटक हो। सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट पहिलोपटक फिर्ता लिएपछि ब्लुमबर्गले युएनएफसिसिसीलाई सहयोग गर्न एक करोड ५० लाख डलरसम्म दिने वाचा गरेका थिए।

उनले ‘अमेरिकाको प्रतिबद्धता’ नामक पहल पनि सुरु गरेका छन्। यसले संघीय स्तरबाहेकका अमेरिकी जलवायु प्रतिबद्धताहरूको अनुगमन गर्छ । ब्लुमबर्गले यसपटक पनि अमेरिकी रिपोर्टिङ दायित्वहरू पालना गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याए।

‘यस्ता योगदानहरू संयुक्त राष्ट्र जलवायु परिवर्तन सचिवालयलाई मुलुकहरूलाई पेरिस सम्झौताअन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्न र कम उत्सर्जन, लचिलो र सुरक्षित भविष्यका लागि अघि बढ्न महत्त्वपूर्ण छन्,’ संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले भने।

सुझावित समाचार