लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयक समितिमा पठाइयो

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । बुधबार सम्पन्न लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको छैटौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभाले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराएका छन् । सभामा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले थारू आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् ।

बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले सभामा उठेका सवालहरूको जवाफ दिएका थिए । उनले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अख्तियारी एक हप्ताभित्र कार्यान्वयनमा आउने जानकारी दिए । महिला परिषद् गठनबारे पनि कानुनी आधार निर्माण गरेर अघि बढाउने धारणा राखेका थिए । प्रदेश सभा सदस्यले समसामायिक विषयमा विशेष समयमा बोल्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सुझावित समाचार