१० जना साधकलाई नइ पुरस्कार

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दस जना साधकलाई ०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो । 

नइप्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसँस्कृतिको जागरण, संरक्षण र सम्वद्र्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा। चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ। नेपालराष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि श्रीहरिराम जोशीलाई ‘नइ भूपाल दुर्गा पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ ।

नेपाली भाषा साहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याएको विशिष्ट योगदानका निम्ति प्रा. गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सम्वद्र्धनका लागि निष्ठावान प्राडा मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रकाशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाए बापत न्युरो सर्जन डा। वसन्त पन्तलाई ‘नइ भावी पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यसैगरी सञ्चारका माध्यमबाट देश देशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउन समेत महत्त्वपूर्ण योगदान दिएबापत कमल प्रधान तथा ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने भएको छ ।

नेपाली भाषामा बाल साहित्यका विविध विधाको सिर्जनाका साथै बाल चेतनाको सम्वद्र्धनका निम्ति रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यको सिर्जना र सम्वद्र्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।

राजधानी बाहिर रही नेपाली भाषा साहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरकी राधिका गुरागाईँलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ । यी सबै पुरस्कारको राशी जनही एक एक लाख रुपैयाँ रहेको छ । 

सुझावित समाचार