मिसेल ओबामाले डोनाल्ड ट्रम्पको राष्ट्रपति पदग्रहण समारोह बहिष्कार गर्ने निर्णयले उनको ट्रम्पप्रतिको घृणा र अस्वीकार्यता झल्काउँछ । ट्रम्पको व्यवहारप्रति धेरै युरोपेली असन्तुष्ट छन् भने चीन, भारत, रुस र ब्राजिलजस्ता देशमा भने उनको पुनरागमनलाई केही हदसम्म सकारात्मक रूपमा हेर्ने पनि छन् । यसविपरीत बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा देश यो फिर्तीबाट मूलतः निराश छन् । अमेरिकी प्रभाव घट्दै गए पनि अमेरिकी राष्ट्रपतिको पदग्रहण समारोहको निम्तोलाई ‘रद्द’ गर्नु व्यावहारिक देखिँदैन । धेरै प्रमुख राष्ट्र ट्रम्पको फर्काइलाई लाभदायक मान्छन् जबकि युरोप ट्रम्पलाई लिएर अनिच्छित देखिएको छ । यो अनिच्छाले यी मुलुक अमेरिकाबाट टाढा हुने जोखिम बढ्छ । यसले बाइडेनले आफूले अमेरिकी वैश्विक प्रभुत्वलाई बलियो बनाएको दाबीलाई चुनौती दिन्छ अर्थात् ट्रम्पको व्यावहारिक, राष्ट्रवादी दृष्टिकोणलाई स्वीकार्यता मिल्छ अर्थात् ट्रम्प परिवर्तनका संवाहक देखिन्छन् ।
जर्जटाउन विश्वविद्यालयका प्राध्यापक चाल्र्स कपचनले ट्रम्पको अनपेक्षित परराष्ट्र नीतिले सकारात्मक वा नकारात्मक दुवै दिशा लिन सक्ने चेतावनी दिएका छन् । विश्व नेताका लागि मुख्य चुनौती उनलाई सही दिशातर्फ लैजानु र उनका खराब प्रवृत्तिलाई नियन्त्रणमा राख्नुपर्ने बन्छ । मार्गरेट थ्याचरसँग तुलना गर्दै कपचन भन्छन्– ट्रम्प ‘भत्काउने मान्छे हुन् जसले पुरानो अन्तर्राष्ट्रिय प्रणालीलाई ध्वस्त पार्न सक्छन्, तर नयाँ र राम्रो प्रणाली निर्माण नगरी अमेरिका र संसारलाई भग्नावशेषको अवस्थामा छोड्न सक्छन् ।’ यो केवल प्राज्ञिक परिकल्पना मात्र होइन । विश्वमा वास्तविक जीवन नै प्रभावित हुन सक्ने अर्थात् सम्भावित वैश्विक द्वन्द्व टार्नसमेत ट्रम्पलाई सही दिशामा लैजानु वा नियन्त्रण गर्नु आवश्यक छ । युरोपियन युनियनको राजधानी ब्रसेल्समा ट्रम्पनिकट ‘ट्रम्प ह्विस्परर’बारे धेरै चर्चा भइरहेको छ । इटालीकी जियोर्जिया मेलोनी, हंगेरीका भिक्टर ओरबान, नेटो प्रमुख मार्क रुटे ‘ट्रम्प ह्विस्परर’का उदाहरण हुन् । तर, यीमध्ये कसैले पनि निर्णायक प्रभाव भने राख्दैनन् । अहिले विश्वलाई ‘ट्रम्प टेमर’ (ट्रम्पमाथि अंकुश लगाउन सक्ने शक्ति)को खाँचो छ ।
युक्रेन युद्ध ‘असल ट्रम्प, खराब ट्रम्प’ सिद्धान्तको एउटा महत्वपूर्ण परीक्षा हो । ट्रम्प किभलाई दिइने सैन्य सहायता खर्चको आलोचना गर्छन् र युक्रेन नेटोमा सामेल हुने विषयमा भ्लादिमिर पुटिनको विरोधको संज्ञान लिने बताउँछन् । उनले युद्धलाई चाँडै अन्त्य गर्न सक्ने दाबी गरेका छन्, तर त्यसका लागि युक्रेनले आफ्नो सार्वभौम क्षेत्र गुमाउनेछ र रुसको आक्रमण पुरस्कृत हुनेछ । तर, ट्रम्पले बाइडेनको सन् २०२१ मा अफगानिस्तानको अस्तव्यस्त फिर्ती दोहो¥याउन नसकिने बुझेका छन् । उनले रुस, चीन, इरान र उत्तर कोरियालाई समेटिएको कथित ‘एक्सिस अफ इभिल’ (दुष्टताको आधार)का लागि ठुलो रणनीतिक जित दिलाउन हिम्मत गर्नेछैनन् । तसर्थ, उनले आगामी वार्तामा किभको वार्ताको स्थितिलाई बलियो बनाउन छोटो अवधिमा अमेरिकाबाट सहायता बढाउन सक्ने चर्चा भइरहेको छ ।
‘बलियो अडानसहितको शान्ति’ युक्रेनका राष्ट्रपति, भोलोदिमिर जेलेन्स्की, र युरोपेली सरकारका लागि एक साझा उद्देश्य बनिसकेको छ । पोल्यान्डका डोनाल्ड टस्क र फ्रान्सका इम्यानुएल म्याक्रोनले संयुक्त रूपमा युरोपियन युनियन र नेटो सुरक्षा प्रयास (र खर्च) बढाउने आह्वानमा काम गरे भने युक्रेन संघर्षको अन्त्य नजिकिँदै गर्दा यिनलाई ‘असल ट्रम्प’लाई आफ्नो पक्षमा ल्याउने राम्रो अवसर हुनेछ । ट्रम्पको इजरायल–प्यालेस्टाइन विषयमा दृष्टिकोण गम्भीर रूपमा गलत छ । उनले गल्फ अरब नेसन्ससँग सम्झौतासम्म पुग्नुलाई शान्ति प्रयासभन्दा माथि राखेका छन् । अघिल्लो कार्यकालमा प्यालेस्टिनीलाई अपमानित गर्दै सहायता कटौती गरेर विवादास्पद जेरुसेलममा अमेरिकी दूतावास सार्ने निर्णय गरेका थिए । आफ्नो कार्य र स्पष्ट आत्मचेतनाको अभावका बाबजुद ट्रम्प सम्भवतः बाराक ओबामाको सन् २००९ को पुरस्कारप्रति ईष्र्या गर्दै नोवेल शान्ति पुरस्कार प्राप्त गर्न चाहन्छन् । उनले एकपटक मध्यपूर्वको ‘अन्तिम सम्झौता’ गर्ने प्रतिज्ञा गरेका थिए र सम्भवतः उनी अझै यसलाई हासिल गर्न सक्ने विश्वास राख्छन् ।
ट्रम्प इजरायलको ‘विशाल इजरायल योजना’लाई पूर्णरूपमा स्विकार्दैनन् र सधैँका युद्धमा अमेरिकी संलग्नताको आलोचना गर्छन् । बेन्जामिन नेतान्याहुभन्दा फरक ट्रम्प इरानसँग युद्ध चाहँदैनन् र वास्तवमा तेहरानसँग वार्ता हुने चर्चा पनि भइरहेको छ । उनी इजरायल–साउदी अरेबिया सम्बन्धमा सामान्यीकरण चाहन्छन् । सही कूटनीतिक दृष्टिकोण अपनाइयो भने ट्रम्प मध्यपूर्वमा सकारात्मक प्रभाव पार्न सक्षम हुन सक्छन् । ट्रम्पको अर्को ठूलो अन्तर्राष्ट्रिय चुनौती चीन हो । के उनले वास्तवमा चिनियाँ आयातमा ६० प्रतिशत भन्सार शुल्क लगाउनेछन् ? के उनी यस्तो व्यापार युद्धको क्षति र मुद्रास्फीतिका प्रभावलाई बुझ्दैनन् ? त्यसैगरी, उनी ताइवानको रक्षा गर्न संकोच गर्छन्, जहाँ बेइजिङले आक्रमणको धम्की दिइरहेको छ । व्यावहारिक र कम आदर्शवादी अमेरिकी–चिनियाँ सम्झौता सम्भाव्य छन् । ‘असल ट्रम्प’ले राष्ट्रपति सी जिनपिङलाई आफ्नो पदग्रहणमा निम्तो दिएका छन् भने ‘खराब ट्रम्प’ चीनलाई संसारका सबै समस्याका लागि दोषी ठान्छन् ।
युरोपका नेता र ट्रम्पका आलोचक अन्ततः विश्वको सबैभन्दा ठुलो राजनीतिक कार्यक्रममा दर्शकमा सीमित भएका छन् । यदि सबै खराब हुन्छ भने ‘खराब ट्रम्प’ले विजय प्राप्त गर्नेछ । एकतर्फी नीति, विदेशमा अलगाव, कमजोर साझेदारी गठबन्धन, लोकतन्त्रप्रतिको घृणा, तानाशाहलाई पाल्ने र एलन मस्कका माध्यमबाट जर्मनी, क्यानडा र बेलायतका पुराना मित्रलाई दुस्मन बनाउने काममै तल्लीन रहनेछन् । र, यसो भयो भने त्यसपछि के गर्ने भन्ने स्पष्ट छैन ।
(टिस्डल द गार्डियनका स्तम्भकार हुन्)
द गार्डियनबाट