मेदभेदलाई ६० हजार पाउन्ड जरिवाना

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

आयोजक अस्ट्रेलियन ओपनले रसियन खेलाडी डेनियल मेदभेदलाई ६० हजार पाउन्ड जरिवाना तिराएको छ । मेलबर्न पार्कमा प्रतिस्पर्धाका दौरान अभद्र व्यवहार गरेका कारण मेदभेद दण्डित भएका हुन् । प्रतियोगितामा पाँचौँ वरीयताका रसियन खेलाडी मेदभेदले पहिलो चरणमा विश्व वरीयतामा ४१८औँ स्थानमा रहेका कासिड समेराजलाई हराउन पाँच सेट लगाएका थिए ।

पहिलो चरणमा कम वरीयताका खेलाडीविरुद्ध जित निकाल्न पाँच सेट लगाएपछि उनी त्यति खुसी देखिएनन् । कोर्टमा अनावश्यक गल्ती गरिरहँदा उनी रिसाइरहेका थिए । पाँचौँ सेटमा भली प्रहार गर्न नेटनजिक पुगेका मेदभेदको प्रयास असफल भएको थियो । त्यसपछि उनले आफ्नो ¥याकेट नेटमै फ्याँके । उनको ¥याकेट दुई टुक्रा भएको थियो ।

यो खेलपछि निर्णायकले उनको व्यवहार नियमविपरीत भएको रिपोर्ट बुझाए । आयोजक अस्ट्रेलियन ओपनले आइतबार मेदभेदलाई जरिवानास्वरूप ६० हजार पाउन्ड तिराएको हो । उनी दोस्रो चरणमा अमेरिकन युवा खेलाडी लर्नर टिएनबाट पराजित भएका थिए । दोस्रो चरणबाट बाहिरिएपछि उनी पत्रकार सम्मेलनमा समेत उपस्थित भएनन् । दोस्रो चरणमा प्रवेश गर्दा मेदेभदले एक लाख दुई हजार पाउन्ड आर्जन गरेका थिए । गत वर्ष मेदभेद फाइनलमा पुगेका थिए । यसैगरी, बेलायती खेलाडी ज्याक ड्रापेरले ¥याकेट कोटमा फ्याँकेका कारण चार हजार अमेरिकन डलर तिर्नुपरेको छ । तेस्रो चरणमा एलेसान्दर भुकिकविरुद्धको खेलमा उनले अभद्र व्यवहार गरेका हुन् । अस्ट्रेलियन ओपनका दौरान खेल चलिरहँदा नियमविपरीत कार्य गर्ने खेलाडीलाई अफिसियलको रिपोर्टअनुसार जरिवाना तिराइएको छ ।

जोकोभिकले अल्काराजविरुद्ध खेल्ने
कीर्तिमानी रूपमा २५औँ ग्रान्डस्लाम जित्ने अभियानमा अग्रसर सर्बियाली खेलाडी नोभाक जोकोभिकले क्वार्टरफाइनलमा स्पेनिस खेलाडी कार्लोस अल्काराजविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । जोकोभिकले चौथो चरणमा २४औँ वरीयताका जिरी लेचेकालाई ६–३, ६–४ र ७–६ ले हराउँदै स्पेनिस खेलाडीविरुद्धको भेट पक्का पारेका हुन् ।

सुझावित समाचार