पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

शनिबार, ५ माघ, २०८१
डिजिटल संस्करण

नेपालगन्ज– १ की पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो। शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलोपटक आएको सुनाइन्। ‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलोपटक आएकी हुँ। यहाँ आएपछि मलाई रमाइलो लाग्यो,’ उनले भनिन्।

मध्यवर्ती क्षेत्रमा रहेको स्वर्गद्वारी सामुदायिक वनको हरियालीले वरपरबाट घेरिएको च्यामाताल बर्दियाको बाँसगढी नगरपालिका–२, राँझाटापुमा पर्दछ। उनले अरूलाई पनि च्यामातालको मनमोहक दृश्य हेर्न जान आग्रह गरेका गरिन्।

पूर्णिमाजस्तै बाँके नेपालगन्ज उपमहानगरपालिका–१८ की संगीता थापाले पनि आफू प्रायः वनभोजका लागि च्यामा सिमसार क्षेत्रमा आउने गरेको बताइन्। प्राकृतिक सुन्दरता र शान्त वातावरणमा रमाउन रूचाउने संगीता साथीभाइ र परिवारसहित घुम्न होस् या वनभोजका लागि होस् च्यामाताल नै जाने गरेको बताइन्। ‘प्रकृतिमा रमाउन मनपर्ने भएको हुनाले म यहाँ नियमित नै आउँछु,’ उनले भनिन्, ‘यहाँको सुन्दरताले नै मनलाई लोभ्याउँछ। र, यहाँ आएपछि बेग्लै प्रकारको खुसी मिल्छ।’

च्यामातालपरिसरमा वनभोजका लागि आउनुभएका बर्दिया बढैयाताल–४ का श्यामकुमार पौडेलले पनि पूर्णिमा र संगीतालाई जस्तै उक्त तालले मनमोहक बनाएको बताए।

च्यामातालका बारेमा आफूले सुनेको, तर पहिलोपटक साथीसँग घुम्न आएको बताउँदै उनले भने, ‘म यही जिल्लाको भए पनि यहाँ पहिलो पटक आएको हुँ । साथीहरूले सुनाएको जस्तै सुन्दर र आकर्षक रहेछ।’

च्यामाताल सिमसार क्षेत्रमा वनभोजका जानेका लागि बाँसगढी नगरपालिकाले रु ३० लाखको बजेट खर्चिएर वनभोज स्थल बनाएको वडा नं २ का वडाध्यक्ष अर्जुन खड्काले बताए । उनका अनुसार विसं २०६२/६३ तिर उक्त ताल भएको ठाउँमा पानीको मुहान थियो, जमिन भासिन्थ्यो । त्यसरी भासिएको ठाउँलाई संरक्षण गर्न सामुदायिक वनले केही बजेट खर्च गरेर वरपर निश्चित घेरा लगाएर बाँध बाँधेर ताल तलैया बनाएको हो।

विसं २०७४ मा बाँसगढी नगरपालिकाले आफ्नै खर्चमा ताललाई सिमसारका रूपमा घोषित गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज र नगरपालिकाको संयुक्त आयोजनामा च्यामातालको नामकरण गरिएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार हाल उक्त च्यामातालमा दिनप्रतिदिन आन्तरिक पर्यटकको संख्या बढिरहेको छ।

बाँसगढी नगरपालिका निर्वतमान प्रमुख सालिकराम अधिकारीले विसं २०७४ मा च्यामाताल र वनभोज स्थलको उद्घाटन गरेका थिए । उनले सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यताको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न समुदायले अग्रसरता देखाउनुपर्ने बताए ।

तालको विकास र संरक्षणको महत्वपूर्ण जिम्मेवारी समुदायको भएकाले तालको सरसफाइ, व्यवस्थापन, संरक्षण र प्रवद्र्धनमा समुदायले नै चासो देखाउनुपर्ने उनको भनाइ थियो।

वडाध्यक्ष खड्काका अनुसार उक्त च्यामातालमा भित्रदेखि पानी निस्कने र चौबिसै घण्टा पानी भइरहने भएकाले वन्यजन्तु पानी खान आउने गर्दछन्। मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ।

जसको लम्बाइ ११ सय मिटर रहेको छ भने चौडाइ आठ सय मिटर छ । तालको प्रचारप्रसारमा सहज होस् भन्ने उद्देश्यले बाँसगढी नगरपालिकाको लोगोमै च्यामा सिमसार क्षेत्रालाई समेटेको छ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जंगली जनावर र विभिन्न प्रजातिका चराचुरुंगीको वासस्थान रहेको च्यामाताल सिमसार क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वनभोज स्थल बनाइएको हो।

पूर्व-पश्चिम महेन्द्र राजमार्गदेखि उत्तर लखना चोक हुँदै झन्डै १२ किलोमिटरको दूरीमा च्यामाताल अवस्थित छ। च्यामातालमा रमाउन बाँके र बर्दियासँग जोडिएका जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गर्दछन्।
 

सुझावित समाचार