यू–१९ महिला विश्वकप : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

शनिबार, ५ माघ, २०८१
डिजिटल संस्करण

मलेसियामा जारी आइसिसी यू १९ महिला विश्व कपको आफ्नो डेब्यु खेलमा नेपाल खराब ब्याटिङका कारण बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले शनिबार नेपाललाई ५ विकेटले पराजित गरेको हो। ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

नेपाल रहेको समूह ‘डी’ को पहिलो खेलमा शनिबारै अस्ट्रेलियाले स्कटल्यान्डलाई १० विकेटले पराजित गरेको थियो। जितसँगै बंगलादेश समूह ‘डी’ को दोस्रो स्थानमा छ। नेपाल समूहको तेस्रो स्थानमा छ।

नेपाली महिला यू १९ टिमको समूह चरणको दोस्रो खेलमा जनवरी २०(माघ ७ गते) स्कटल्यान्डसँग खेल्नेछ। समूह चरणको अन्तिम तथा तेस्रो खेलमा नेपाल जनवरी २२(माघ ९ गते) अस्ट्रेलियासँग खेल्नेछ।

आइसिसी यू १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागिता छ। सहभागी टोली ४ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इन्डिज छन्। समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’ मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्। समूह ‘डी’ मा नेपालसहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन्। प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ।

ग्रुप १ मा समूह ‘ए’ र समूह ‘डी’का शीर्ष ३ देश रहनेछ। त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ र समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहनेछन्। सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इन्डिजसँग खेल्न पाउने सम्भावना रहन्छ। सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। पहिलो संस्करणको आइसिसी यू १९ महिला टी ट्वान्टी विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो। पहिलो संस्करणको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो।

सुझावित समाचार