इजरायल–हमासबिचको युद्धविरामलाई आफ्नो कार्यकालको अन्तिम विदेश नीतिको सफलताका रूपमा जस लिने बाइडेनको चाहना उनका राजनीतिक प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका कारण छायामा
अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल–हमासबिचको युद्धविरामको समाचार सार्वजनिक गरेर यसलाई उनको कार्यकालको अन्तिम विदेश नीति जितका रूपमा प्रस्तुत गर्न चाहन्थे । तर, बाइडेनको यो प्रयास उनका राजनीतिक प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको एक पोस्टले ओझेलमा पर्यो । बाइडेनले विज्ञप्ति जारी गरेर सम्झौता भएको पुष्टि गर्नुभन्दा केही घण्टाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा सम्झौताको खुलासा गरिदिएका थिए ।
पछि ह्वाइट हाउसमा पत्रकारसँग भएको कुराकानीमा बाइडेनले गाजामा युद्धविराम गराउन उनको प्रशासनको कूटनीतिक प्रयास ‘कहिल्यै नरोकिएको’ जोड दिए । तथापि बाइडेनले पछिल्लो समय युद्धविराम प्रयासमा ट्रम्पको समूहसँग सहकार्य गरेको लुकाएनन् । अमेरिका युद्धविरामको विषयमा एक ठाउँमा उभिएको सन्देश दिन मात्र यस्तो सहकार्य भएको उनको संकेत थियो ।
तीन दिनपछि अमेरिकाको ४७औँ राष्ट्रपतिको कार्यकाल सम्हाल्न लागेका ट्रम्पले मध्यपूर्वका लागि चुनेका आफ्ना दूत स्टिभ विटकफलाई युद्धविरामका लागि भएका वार्तामा भाग लिन पठाएका थिए । बाइडेनले भने सम्झौता ‘उनको वार्ता टोलीले विकसित गरेर अन्तिम रूप दिइएको’ दाबी गरेका छन् । उनले यस कूटनीतिक सफलतामा कसको योगदान बढी भन्नेमा भ्रम सिर्जना भएकोप्रति आश्चर्य प्रकट गरे । पत्रकार सम्मेलन सकेर फर्किन लागेका बाइडेनलाई एकजना रिपोर्टरले चर्को स्वरमा सम्झौताको श्रेय उनी वा ट्रम्पमध्ये कसलाई दिन योग्य हुन्छ भनेर साधेकी थिइन् । बाइडेनले ‘के तपाईंले मजाक गर्नुभएको हो ?’ भने र केही नभनी हिँडे ।
उसो त ट्रम्प आफ्ना उपलब्धिलाई बढी बढाइचढाइ गर्ने व्यक्तिका रूपमा कुख्यात छन् । तर, पछिल्लो युद्धविराम वार्तामा उत्पन्न गतिरोध तोड्न ट्रम्पको समूहको संलग्नतालाई उनका समर्थक वृत्तभन्दा बाहिरसमेत स्वीकार गरिएको छ । गाजायुद्ध रोक्न इजरायलमाथि दबाब नदिएको भन्दै बाइडेनको प्रशासनबाट राजीनामा दिएका अमेरिकी विदेश मन्त्रालयका पूर्वअधिकारी माइक क्यासीले युद्धविराम भएको समयका आधारमा यसलाई इजरायलले ‘ट्रम्पलाई दिएको उपहार’ मान्न सकिने बताए ।
‘अहिले नेतन्याहुले उनको घरेलु राजनीतिक अनुकूलता हेरेर सम्झौतामा सहमति जनाएका हुन् । नत्र अहिलेको सहमतिमा रहेका बुँदा गत मे महिनामा प्रस्ताव गरिएको मस्यौदाभन्दा खासै फरक छैन,’ क्यासीले अल जजिरालाई भने । क्यासीका अनुसार इजरायलीहरू बाइडेन अन्ततः आफ्ना मागमा झुक्नेछन् भन्नेमा यति ढुक्क थिए कि तिनले बाइडेन सरकारका अधिकारीका कुनै प्रयासलाई खासै गम्भीरता दिँदैनथे ।
केही इजरायली मिडियाले समेत पछिल्लो सम्झौताको सफलतामा ट्रम्पको संलग्नता निर्णायक भएको संकेत गरेका छन् । ‘द टाइम्स अफ इजरायल’ले दुईजना नाम नखुलाइएका अरब अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि वार्ताको एक चरणमा ट्रम्पका दूत विटकफले बाइडेनको वर्षभरिको प्रयासभन्दा बढी नेतन्याहुलाई सम्झौता स्विकार्न योगदान गरे ।
ट्रम्पलाई सम्झौताको मुख्य श्रेय नदिए पनि बाइडेन प्रशासनका अधिकारीले पनि ट्रम्पको वार्ता टोलीले महत्वपूर्ण भूमिका खेलेको स्वीकार गरेका छन् । बाइडेनका प्रमुख वार्ताकार ब्रेट म्याकगर्कसँगको विटकफको साझेदारी ‘धेरै प्रभावकारी साबित भएको’ तिनले बताएका छन् ।
‘नेसनल युनिभर्सिटी अफ सिंगापुर’का मध्यपूर्व संस्थानका वरिष्ठ अनुसन्धानकर्ता जिन–लुप स्यामान पनि ट्रम्पको वार्ता टोलीले नेतन्याहुलाई सम्झौता स्विकार्न दबाब दिएको हुन सक्ने विश्वास गर्छन् । ‘ट्रम्प आफ्नो शपथअघि नै युद्धविराम हुनुपर्छ भन्नेमा स्पष्ट थिए । उनी आफ्नो शासनमा सम्झौताको वार्ता नहोस् भन्ने चाहन्थे,’ स्यामानले भने ।
अर्कोतर्फ यी दबाब सार्वजनिक गरेर नेतन्याहुले उनको सरकारभित्रका कट्टरपन्थीलाई शान्त पार्ने कूटनीतिक कदम चालेको विश्लेषण पनि भएको छ । ‘नेतन्याहु ट्रम्पको चर्को दबाब रहेको देखाएर बेन–गभिर र स्मोट्रिचजस्ता मन्त्रीहरूलाई ट्रम्पका दबाबसामु झुक्नुबाहेक अरू कुनै विकल्प नभएको भनेर तिनलाई शान्त पार्ने प्रयासमा छन्,’ स्यामानले नेतन्याहुको क्याबिनेटमा रहेका अति–दक्षिणपन्थी मन्त्रीहरू बेजालेल स्मोट्रिच र इटामार बेन–गभिरलाई उल्लेख गर्दै भने ।