संसद्को कानुन समितिकी सदस्य नागिना यादवलाई ३ प्रश्न

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

खासमा विवाहयोग्य उमेर कति हुनुपर्ने हो ?
हामी विभिन्न हिरासत कक्ष तथा कारागारको भिजिट गर्दा त्यहाँ बालविवाहका आरोपी धेरै भेटिए । विभिन्न समयमा फिल्डमा जाँदा विशेषगरी कर्णाली र मधेश प्रदेशमा पुग्दा त्यहाँ बालविवाहको समस्या बढी देखिए । यी क्षेत्रका समाजमा कानुनले रोके पनि भित्रभित्रै बालविवाह भइरहेकै छ । राज्यले १६ वर्षमा नागरिकता दिने, १८ वर्षमा भोटिङ राइट दिने र विवाहचाहिँ २० वर्षअघि गर्न नपाइने भन्दा अलिक सुहाउँदो पनि देखिएन । फेरि हामीकहाँ मात्रै होइन, छिमेकी भारतमा पनि विवाह गर्न पाइने उमेर १८ वर्ष नै तोकिएको छ । २० वर्षको कानुनी सीमा कर्णाली र मधेश प्रदेशका लागि प्राक्टिकल पनि देखिएन । 

विवाहयोग्य उमेर १८ वर्ष कायम गर्दा यसले समाजमा कस्तो प्रभाव पार्ला ?
हामीले फिल्ड भिजिटका क्रममा स्थानीय जनता, जनप्रतिनिधि, सिडिओलगायतसँग छलफल गर्दा प्रायले विवाहयोग्य उमेर कानुनतः १८ वर्ष कायम गर्नु उपयुक्त हुने सुझाव दिनुभएको थियो । तर, यो व्यवस्था कायम गर्दा यसले महिलाको हकमा भने नकारात्मक प्रभाव पनि पार्न सक्छ । १८ वर्षकै उमेरमा विवाह गरिदिँदा कम उमेरमै आमा बन्ने, शिक्षाको बाटो बन्द हुन सक्ने र उसका वृत्ति विकासका अवसरहरू रोकिन सक्ने सम्भावना हुन्छ । यस्तो भयो भने यसले महिलाका हकमा चाहिँ समाजमा नकारात्मक प्रभाव नपार्ला भन्न सकिन्न । 

लिभिङ टुगेदरलाई पनि कानुनी दायरामा ल्याउने प्रयासलाई के भन्नुहुन्छ ?
लिभिङ टुगेदरमा केही विकृति देखिएका छन् । आजभोलि मन मिलेपछि केटा र केटी लिभिङ टुगेदरमा बस्ने र पछि मन भाँडिएपछि बलात्कारको मुद्दा हाल्ने प्रवृत्ति बढिरहेको हुनाले यसलाई सम्बोधन गर्न पनि कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ । 

सुझावित समाचार