सहकार्यतिर मधेशकेन्द्रित दल

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

कांग्रेस–एमाले गठबन्धनबाट मधेशको समस्या समाधान नहुने कार्यदल बैठकको निष्कर्ष, एजेन्डामा सहकार्य गर्ने सहमति

संविधान संशोधनलगायतका मुद्दामा साझा धारणा बनाउने प्रयासस्वरूप कार्यगत एकताको प्रयास थालेका तराई–मधेशकेन्द्रित राजनीतिक दलहरूबिच संवादको सुरुवात भएको छ । यद्यपि, जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीको संयोजनमा राजधानीमा मंगलबार भएको बैठकमा जसपा नेपाल, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएनन् । 

मंगलबारको बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति र तमलोपाका नेता तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एजेन्डामा सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका छन् । सत्तागठबन्धनले संविधान संशोधनका लागि गृहकार्य थालेपछि संविधानका कैयौँ मुद्दामा असन्तुष्ट तराई–मधेशकेन्द्रित दलहरू साझा धारणा बनाउने प्रयासमा जुटेका हुन् । 

मंगलबार बैठक सकारात्मक भएको र अर्को बैठकमा मुद्दालाई बुँदागत रूपमा उतार्ने सहमति बनेको नेताहरूको दाबी छ । त्रिपाठीले मुख्यतः भ्रष्टाचार, अर्थतन्त्र र विभेदको विषय उठाइने बताए । ‘लुज फोरम बनाएर सहकार्य गर्दै जाने विषयमा प्रारम्भिक संवाद भयो । सबैको प्रतिबद्धता आएको छ । सहकार्य गर्ने बुँदाबारे आगामी बैठकमा छलफल हुन्छ,’ त्रिपाठीले भने, आजको बैठकले उत्साह थपेको छ । अर्को बैठकअघि साझा एजेन्डा के हुन सक्छ भनेर दलहरूले आ–आफ्नो पार्टीमा छलफल गर्ने छन् । सबै दलले एजेन्डा तय गरेपछि फेरि बैठक बस्नेछ । जहाँ मुद्दा बुँदागत रूपमा उतार्ने काम हुनेछ ।’

मंगलबार बैठकमा जसपाका रेणु यादव र मोहम्मद इस्तियाक राई, लोसपाबाट जितेन्द्र सोनल र डा. सुरेन्द्र झा, जनमतबाट शरद यादव, जनता प्रगतिशीलबाट त्रिपाठी र शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, तमलोपाबाट वृषेशचन्द लाललगायतका नेता सहभागी थिए । 

मधेशको समस्या समाधान कांग्रेस–एमालेले गर्न नसक्ने निष्कर्ष उनीहरूको छ । मधेशकेन्द्रित पार्टीहरूले नै मधेशको समस्या समाधान गर्न सक्ने र त्यसका लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । संविधान संशोधन भने तत्काल नहुने निष्कर्ष उनीहरूको छ । ‘कांग्रेस–एमालेले संविधान संशोधनको कार्ड अहिले खोल्दैनन्, राष्ट्रिय सभाको निर्वाचन नभएसम्म संशोधनको विषय अघि बढ्दैन । उनीहरू सरकार बनाउन मिलेका हुन्, देखाउन सात बुँदामा संविधान संशोधनको विषय राखेका मात्र हुन्,’ त्रिपाठीले भने । 

समसामयिक राजनीतिको विषयमा छलफल भएको जसपा उपाध्यक्ष रेणु यादवले बताइन् । ‘समसामयिक विषयमा छलफल भयो । अहिले नै निष्कर्षमा पुगिएको छैन, हामी फेरि बस्छौँ,’ उनले भनिन् । लोसपा महासचिव सुरेन्द्र झाले संवाद र सहकार्यका लागि छलफल भएको बताए । ‘संवाद र सहकार्यका लागि गम्भीर छलफल भयो । थप छलफल गर्दै अघि बढ्छौँ,’ उनले भने ।

राष्ट्रिय मुक्ति पार्टीबाट नेता केशव झाले संवादहीनताको अन्त्य भएको र अब निरन्तर संवाद हुने बताए । ‘अर्को बैठकअघि आ–आफ्ना पार्टीमा साझा एजेन्डा के–के हुन्छ भनेर छलफल गरेर विषय तय गर्छौँ । कुनै न कुनै रूपमा एकत्रित हुने वातावरण बन्दै छ,’ राष्ट्रिय मुक्ति पार्टीका नेता झाले भने । 

सुझावित समाचार