पाँचौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता ०८१ माघ देस्रो सातादेखि हुने भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको प्रायोजनामा हुने प्रतियोगिता १२ देखि १९ माघसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ।
दुई विदेशीसहित १२ टोलीबिच प्रतिस्पर्धा
प्रतियोगितामा महिलातर्फ एक र पुरुषतर्फ एक गरी दुई विदेशीसँगै दुवैतर्फ समान ६-६ गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र आयोजकसँगै पाहुना टोली थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबसँगै पाहुना टोली श्रीलंकाको श्रीलंकन भलिबल टिमले प्रतिस्पर्धा गर्ने भएका संयोजक ज्ञवालीले जानकारी दिए।
पुरस्कार राशीमा वृद्धि
आयोजकले पाँचौँ संस्करणको पुरस्कार राशीमा वृद्धि गरेको जनाएको छ। आयोजक ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार महिला पुरुष दुवैतर्फको विजेताले समान पाँच लाख ८५ हजार ५५५, दोस्रोले समान दुई लाख ८५ हजार ५५५ र तेस्रो हुनेले टोलीले समान एक लाख ८५ हजार ५५५ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७, विधागततर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, ब्लकर, सर्भर, डफेन्डर र प्रशिक्षकलाई समान १० हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउने शर्माले जानकारी दिए।
गत वर्ष सम्पन्न चौथो संस्करणमा दुवै विधाका विजेता टोलीले पाँच लाख ५५ हजार, उपविजेताले दुई लाख ५५ हजार र तेस्रोले एक लाख २५ हजार ५५५ नगद पाएका अध्यक्ष शर्माले जानकारी दिए।
पाँचौँ संस्करणसम्म आइपुग्दा यसअघि महिलातर्फ पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले हात पार्दा त्यसपछिका क्रमशः दोस्रो, तेस्रो र चौथो गरी तीन संस्करणको उपाधि हात पार्दै एपिएफ क्लबले ह्याट्रिक गरेको थियो।
यसैगरी, पुरुषतर्फ पहिलो संस्करण गण्डकी, दोस्रोमा आर्मी, तेस्रोमा गण्डकी र चौथो संस्करणमा हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि हात पारेको थियो।