जापानको ओसाका सहरमा 'प्रथम नेपाल फेस्टिभल कान्साई २०२५' हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) कान्साईको आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सह–आयोजनामा यही अप्रिल २६ र २७ तारिख दुई दिन ओसाकाको क्योबासी, फुलाली पार्कमा फेस्टिभल आयोजना हुन लागेको हो।
गत बिहीबार एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै एनआरएन कान्साईले फेस्टिभल आयोजनाबारे कान्साईमा रहेका नेपाली संघ संस्थाहरूसँग छलफल गरेको छ। फेस्टिभलको हालसम्म भएको कार्यप्रगति तथा भावी कार्यक्रमका सम्बन्धमा मूल आयोजक कमिटी संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष कृष्ण गैरेले तथा कार्यक्रमको व्यवस्थापकीय पक्षबारे व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार बस्नेत दिनेशले जानकारी गराए।
फेस्टिभलका लागि मूल आयोजक समितिअन्तर्गत विभिन्न ११ वटा उपसमितिसमेत गठन भएका छन्। तुलसीराम खरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, स्टल व्यवस्थापन समितिको संयोजकमा महेशकुमार कटवाल, खाद्य गुणस्तर मापन समितिको संयोजकमा टीकाराम कँडेल, सांस्कृतिक तथा झाँकी व्यवस्थापन समितिको संयोजकमा टिआर गौडेल, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा भीम काउछा, प्रचार प्रसार समितिको संयोजकमा तेज गुरुङ, मिडिया व्यवस्थापन समितिको संयोजकमा पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समितिको संयोजकमा सुवास कँडेल, संघ संस्था समन्वय समितिको संयोजकमा हरि कँडेल, फूलमाला ब्याज व्यवस्थापन समितिको संयोजक सपना डल्लकोटी र अतिथि व्यवस्थापन समितिको संयोजक हरिराज ढकाल रहेको संयोजक गैरेले जानकारी दिए।
छलफल कार्यक्रममा फेस्टिभल सम्पन्न गर्नका लागि सहभागी वक्ताहरूले सल्लाह तथा सुझाव दिएका थिए। एनआरएन कान्साईका पूर्वसंयोजकहरू हरिराज ढकाल, समाजसेवीहरू रमेशबाबु घिमिरे, सुनील केसी, लाक्पा दोङ, तेज गुरुङ, कृष्ण भुसाल, बलबहादुर क्षेत्री, पत्रकार पुरुषोत्तम लामिछाने, झरेन्द्रकुमार कुँवरलगायतका वक्ताहरूले आफ्नो धारणा राखेका थिए।
एनआरएनए क्षेत्रीय समिति कान्साईको मिति २०२४ डिसेम्बर ११ र १६ तारिखका दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रूपमा बसेको बैठकबाट नेपालको कला, संस्कृति, भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यका साथ ऐतिहासिक 'प्रथम नेपाल फेस्टिभल कान्साई २०२५' गर्ने निर्णय गरेको थियो।