एक महिनापछि भैरहवामा फ्लाई दुबईको नियमित उडान सुरु

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा फ्लाई दुबईले पुनः नियमित उडान सुरु गरेको छ । एक महिनापछि फ्लाई दुबईको जहाज सोमबार दिउँसो दुई बजे भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

फ्लाई दुबईको सोमबारको उडानमा काठमाडौंमा भन्दा भैरहवा झर्ने यात्रुहरू धेरै रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । जहाजमा सवार कुल एक सय ५६ यात्रुमध्ये बिजनेस क्लासका ६ सहित ८९ यात्रु भैरहवा झरेका थिए भने काठमाडौंमा बिजनेस क्लासका चारसहित ६७ यात्रु थिए । तर, भैरहवाबाट दुबई जाने यात्रु भने १५ जना मात्र रहेको बताइएको छ ।

एक महिनापछि भएको पहिलो उडानमै भैरहवा झर्ने यात्रुहरू धेरै हुँदा उत्साह थपिएको भैरहवाका व्यवसायीले बताएका छन् । २५ कात्तिकदेखि फ्लाई दुबईले भैरहवामा दैनिक एउटा उडान गर्दै आएको छ । खराब मौसमका कारण बिचमा रोकिएको उडान पुनः सुचारु भएपछि स्थानीय व्यवसायी पनि उत्साहित भएका छन् ।

अहिले पनि नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–दुबई–काठमाडौं रुटमा सातामा चार उडान गर्दै आइरहेको छ । यस्तै, काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रुटमा दैनिक एउटा उडान गर्छ । जजिराले ३१ जनवरीदेखि र एयर एसियाले फेब्रुअरी फस्र्टदेखि नियमित उडान सुचारु गर्ने तयारी गरेको सहप्रवक्ता भुलले बताए ।

यसअघि थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दै आएको थियो । जजिराले कुवेत–भैरहवा–कुवेत सातामा तीन उडान सुरु गरेको थियो । एयर एसिया र जजिराले सोही तालिकाअनुसार भैरहवा उडान सुचारु गर्ने तयारीमा रहेको बताइएको छ । कतार एयरले अझै भैरहवा उडान नियमित गर्ने प्रस्ताव पेस गरेको छैन । 

सुझावित समाचार