बैतडी सदरमुकाम शाहीलेकमा स्थापना भएकाे कपडा बैंकले एक वर्षमा ६१८ परिवारलाई नि:शुल्क लुगा वितरण गरेको छ। विभिन्न विद्यालयमा पढ्ने बालबालिका तथा विपन्न परिवारजनलाई उक्त लुगा वितरण गरिएकाे हाे।
‘हामीले विपन्न परिवार तथा बालबालिकाहरूलाई लक्षित गरेर गत वर्ष याे कामको सुरुवात गरेका थियाैँ,’ कपडा बैंक सञ्चालक महेश भट्ट भन्छन्, ‘याे अवधिमा ६१८ परिवारका सदस्यहरूलाई नि:शुल्क लुगा वितरण गरिएकाे छ।’ गत वर्ष माघ १ गतेबाट सुरु गरिएकाे कपडा बैंकले ओड्ने–ओछ्याउने, न्यानाे लुगा तथा लगाउने लुगाहरू वितरण गर्ने गरेकाे छ।
बैतडी सदरमुकामपछि जिल्लाकाे दक्षिणी क्षेत्र मेलाैलीमा स्थापना भएकाे अर्काे शाखाबाट १९२ परिवारलाई लुगा कपडाहरू वितरण गरिएको छ । कपडा बैंक स्थापना भएपछि जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका शुभकार्यहरूकाे अवसरमा विभिन्न व्यक्तिहरूले नयाँ लुगाहरू सहयाेग गर्दै आएका छन्। ‘हुनेले दिने, नहुनेले लगेर जाने’ भन्ने परोपकारी उद्देश्यले स्थापना भएकाे कपडा बैंकमा सदरमुकाम क्षेत्रका प्रायः अधिकांशले सहयाेग गर्ने गरेकाे स्थानीय महिला अगुवा बिस्ना चन्दले बताइन्।
बितेकाे एक वर्षमा सदरमुकामआसपासका शिवस्थली मा.वि., केदारेश्वर मा.वि., वीरेन्द्र मा.वि.लगायत आठवटा विद्यालयका ११० जना विपन्न विद्यार्थीहरूलाई लुगा प्रदान गरिएकाे कपडा बैंकले जनाएकाे छ।
कपडा बैंकलाई देशव्यापी रूपमा सहयाेग प्राप्त भइरहेकाले आफूहरू उत्साहित भएर काम गरिरहेकाे सञ्चालक समूहले बताएकाे छ।
कपडा बैंकलाई संस्थागत रूपमा मायाघर इटहरी, दृष्टि फाउन्डेसन धनगढी, वाणिज्य बैंक, धनगढी नेत्रालय, कपडा बैंक धनगढी, क्लब धनगढी, प्रेस चौतारी बैतडीलगायतक दर्जन संस्थाहरूले सहयोग गरेकाे सञ्चालक भट्टले जानकारी दिए । त्यस्तै, व्यक्तिगत रूपमा जिल्लाका विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी क्षेत्रका ६० जनाभन्दा बढीले लुगाहरू दिएर सहयाेग गरेकाे उनले बताए।
कपडा बैंक सञ्चालन गरेर विपन्न व्यक्ति तथा परिवारलाई नि:शुल्क कपडा सहयाेग गर्न केही युवा मिलेर सुरु गरेकाे र एक वर्षकाे अवधिमा अपेक्षाअनुसार राम्राे काम भएकाे युवा अभियन्ता माेहित भण्डारीले बताए।