एनकेएल खेल्न आइपुगे घनश्याम

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटपछिको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो, प्रो कबड्डी लिग। जसको फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै दुई साताअघि हरियाणा स्टिलर्स च्याम्पियन भएको थियो। यी नै प्रो कबड्डी लिग च्याम्पियन हरियाणाका रेइडर्स घनश्याम रोकामगर नेपाली राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान पनि हुन्। २१ वर्षीय घनश्याम नेपाल कबड्डी लिग (एनकेएल) खेल्न काठमाडौं आइपुगेका छन्। उनी ४ माघदेखि हुने एनकेएलमा काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन्।

रोल्पाको लिवाङ घर भएका घनश्यामले सोमबार आयोजित कार्यक्रममा भने, ‘नेपालमा यस्तो (एनकेएल) प्रतियोगिता पहिला कहिल्यै भएको थिएन। यसपालि खेलाडीले राम्रो पैसा पाउँदै छन्। कर्पोरेट हाउसहरूले टिम खरिद गरेका छन्। खेलाडी, कोच सबैले राम्रो सुविधा पाएको छ। त्यसैले एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक रूपमै स्थापित गर्ने र भविष्यमा ठुलो प्रतियोगिताको रूपमा स्थापित हुने विश्वास लिएको छु।’

गत सिजन पनि हरियाणा स्टिलर्सबाटै खेल्दा उनी प्रो कबड्डी लिगमा उपविजेता बनेका थिए। यसपालि भने च्याम्पियन नै भए। पुनामा जितेको उपाधिको खुसियाली हरियाणामा मनाएर उनी स्वदेश फर्किएका हुन्।

६ सहरका ६ टिम सहभागी एनकेएलको राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ । जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले १४ माघमा क्वालिफाइर १ खेल्ने छ, जसको विजेता सिधैँ फाइनलमा पुग्नेछ ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले १४ माघमा नै इलिमिनेटरमा खेल्नेछ । जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबिच १६ माघ हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ । फाइनल १८ माघ हुनेछ । एनकेएल खेल्न थाइल्यान्ड, बंगलादेश र श्रीलंकाबाट १८ खेलाडी काठमाडौं आइसकेका छन्।

सुझावित समाचार