१४ कात्तिकदेखि हराएका चेपाङ मृत फेला

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

१४ कात्तिकदेखि हराएका मकवानपुरको कैलाश गाउँपालिका–७, भार्ताका ७० वर्षीय टीकाराम प्रजा मृत अवस्थामा फेला परेका छन्। उनी भीमफेदी गाउँपालिका–२ मा मृत अवस्थामा फेला परेका हुन्। 

उनको शव सडेको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। भीमफेदी–९ स्थित भान्जीको घर जाने क्रममा हराएको भन्दै प्रजाका भतिज रामहरि प्रजाले ४ मंसिरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए। 

सडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको विषयमा अनुसन्धान गर्ने क्रममा १४ कात्तिकमा हराएका प्रजाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतकले लगाएको कपडा र साथमा रहेको झोलाको आधारमा मृतकको भान्जी पम्फा चेपाङले शव सनाखत गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। प्रजाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार