संखुवासभामा जारी दोस्रो तीनपोखरी फुटबल कप प्रतियोगिताको फाइनलमा खाँदबारी र झापा चुलाचुली प्रवेश गरेका छन्। सोमबार सम्पन्न सेमिफाइनल प्रतियोगितामा एपिएफ र झापा चुलाचुलीबिच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टिम गोल नगरेपछि टाइब्रेकरमा ३ का विरुद्ध ५ गोल गर्दै झापा चुलाचुली फाइनलमा प्रवेश गरेको हो।
यसअघि नै आयोजक खाँदबारी तीनपोखरी क्लबले मोरङ बुल्स ११ लाई हराउँदै फाइनलमा पुगिसकेको छ। मंगलबार (भोलि) आयोजक र झापा चुलाचुलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा आठ टिमको सहभागिता थियो।