भ्रष्टाचार मुद्दामा मधेशका कानुन मन्त्रालयका उपसचिवसमेत सबैलाई सफाइ

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा विशेष अदालतले चारजनालाई सफाइ दिएको छ । सोमबार विशेषले यसै वर्ष साउन अन्तिममा दायर मुद्दामा यस्तो फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ३१ साउनमा मधेश प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव अवधकिशोरप्रसाद कुशवाहासमेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध पाँच लाख ३१ हजार रुपैयाँभन्दा बढी अनियमितता गरेको अभियोग थियो । 

धनुषास्थित पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवसमेतको मिलेमतोमा अनियमितता भएको दाबी अख्तियारको थियो । यस मुद्दामा जायसवाल कन्स्ट्रक्सनका निर्माण व्यवसायी तथा सञ्चालक राकेशप्रसाद जायसवाललाई पनि प्रतिवादी कायम गरिएको थियो । 

आर्थिक वर्ष ०७७-७८ मा महोत्तरीस्थित इलाका प्रहरी कार्यालय गौशालाको कम्पाउन्ड वाल लगाउने क्रममा गुणस्तरहीन कार्य गरेको भनी उजुरी अख्तियारमा परेको थियो । उक्त वर्ष कानुन मन्त्रालयबाट भएको ठेक्काको आह्वान प्रक्रियादेखि भुक्तानीसम्मको कार्यमा संलग्न रही फिल्डमा हुँदै नभएको काम भएको देखाइएको अख्तियारको अनुसन्धानले देखाएको थियो । 

सम्पन्न नै नभएको काम भएको भनी नापी किताब, बिल र सोहीअनुसार कार्यसम्पन्न प्रतिवेदन तयार भएको तथा त्यसैका आधारमा पाँच लाख ३१ हजार रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो । जसपछि उक्त रकम बिगो कायम गरी चारैजनामाथि मुद्दा चलाइएको थियो । तर, अख्तियारको दाबी नपुग्ने फैसला भएको हो ।
 

सुझावित समाचार