वर्षायामको पानी सिंघियामा मिसाउने गाउँपालिकाको योजना

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

बाढीले बिचल्ली बनाउने चिन्ताले खापटोलवासी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिका– १ तल्लो खापटोलका दिलीप ऋषिदेव, सीताराम मुखिया अनि माथिल्लो खापटोलका जितो राजवंशीहरू हरेक वर्ष बाढीले गर्दा विस्थापित हुन बाध्य हुन्छन् । यसपालि झन् गाउँपालिकाले दुई किलोमिटरदेखिको बर्सातको बाढी खोलामा मिसाउन लागेकाले उठीवास लाग्ने चिन्ताले उनीहरूको भोकनिद्रा नै हराएको छ । 

बुढीगंगा गाउँपालिका– १ मा पालिकाले टंकीचोक पूर्व–उत्तरतर्फबाट वर्षायाममा बगेर वर्षाैँदेखि जम्मा हुँदै आएको बाढीको पानी सुटुक्क उपभोक्ता समिति निर्माण गरेर दुई किलोमिटर पूर्वमा रहेको खदरा खोलामार्फत सिंघिया खोलामा मिसाउन लागेको छ । यसैले तल्लो र माथिल्लो खापटोलवासी दिलीप, सीताराम र जितोहरू मात्र नभएर त्यहाँ बसोवास गर्ने करिब दुई सय घरपरिवारमा चिन्ता छाएको हो । उनीहरू पालिकाले विनासरकारी योजना निजी उद्योगहरूसँग पैसा लिएर बाढीको पानी खदरा खोलामार्फत सिंघियामा मिसाउन नदिने भन्दै आन्दोलित भएका छन् । 

दुई किलोमिटर पश्चिमदेखिको वर्षायामको बाढी पूर्वमा रहेको खदरा खोलामा मिसाउन नदिन सिंघिया नदीको तटीय क्षेत्रमा बस्ने बासिन्दाले पनि विरोध गरेका छन् । उनीहरूले विनाविकल्प सयौँ घरपरिवार डुबानमा पारेर जिउधनसँगै धनसम्पत्तिको विनाश हुने भन्दै बाढी मिसाउने निर्माण कार्य तुरुन्त बन्द गर्न माग गरेका छन् । उनीहरूले यसबारे वडाध्यक्ष सोमप्रसाद काफ्ले र बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण पनि गराइसकेका छन् । तर, पालिकाले सुटुक्क उपभोक्ता समिति निर्माण गर्न लगाएर निर्माण कार्य थाल्ने तयारी गरिसकेकाले प्रभावित क्षेत्रका स्थानीयको माग सुनुवाइ गर्न चाहेको छैन । 

स्थानीय सुनील केसीले पालिका र वडा कार्यालयमा गएर चेतावनीसहित समस्या जानकारी गराइसक्दा पनि बेवास्ता भएकाले संघर्ष समिति निर्माण गरेर निर्माणस्थलमै शान्तिपूर्ण धर्ना बस्ने गरी संघर्ष गर्ने निर्णय गरेको बताए । ‘पालिकाले सुनुवाइ नगरेपछि मर्नुभन्दा बहुलाउनु निको भनेर निर्माण कार्य बन्द गराउन संघर्ष गर्ने घोषणा गरेका हौँ,’ उनले भने ।बाढीको डुबान र कटानको उच्च जोखिममा रहेका खापटोल र सिंघिया नदीको तटीय क्षेत्रमा बसोवास गर्ने बासिन्दाले पहिले सरकारीविज्ञमार्फत डिपिआर तयार गर्नुपर्ने, वातावरण प्रभाव मूल्यांकन गराउनुपर्ने, पालिकाबाट योजना पारित गराएर बजेट विनियोजन गराउनुपर्ने, निर्माण कार्यको उपभोक्ता समिति र ठेक्का कार्य कानुनी प्रक्रियाअनुसार पारदर्शी हुनुपर्ने, बाढी मिसाउने खदरा खोला र सिंघिया नदीमा दिगो तटबन्ध निर्माण गरिनुपर्ने माग गरेका छन् ।

पालिकाले वडा कार्यालयमार्फत निजी उद्योग र जग्गाधनीसँग लाखौँ रकम लिएर वर्षौँदेखि डुबानमा पर्दै आएको निजी जग्गा उकास गराएर करोडौँ मूल्यमा घडेरीमा बिक्री गर्न जम्मा हुने बाढीको पानी खोलामा मिसाएर सयौँ गरिब, दलित र सुकुमवासी परिवारलाई नियतवश उठीवास लगाउन खोजेको प्रभावित बासिन्दाको आरोप छ । ‘हामी विनाविकल्प र सरकारी योजना कुनै पनि हालतमा खोलामा जबर्जस्ती पानी मिसाउन दिनेछैनौँ । केही भएमा पालिकाले नै हाम्रो सुरक्षाको जिम्मा लिनुपर्छ,’ खापटोलवासी मीना कोइरालाले भनिन् । पीडितहरूले पालिकाको अपारदर्शी र एकलौटी निर्णयबाट हुन लागेको निर्माण कार्यले प्रभावित क्षेत्रमा पार्ने असर प्रभावबारे अध्ययन गरिदिन राजनीतिक दल, सम्बन्धित क्षेत्रका सांसद र कोशी प्रदेश सभाको संसदीय समितिलाई पनि आग्रह गरेका छन् ।

खदरा खोलामार्फत बाढी सिंघिया नदीमा मिसाएमा बुढीगंगा गाउँपालिका– १ का मात्र नभएर विराटनगर महानगरपालिका वडा नम्बर १९ र १, कटहरी र जहदा गाउँपालिकाको सिंघिया नदीको तटीय क्षेत्रमा बसोवास गर्ने सयौँ घरपरिवार बासिन्दा डुबान र कटानको उच्च जोखिममा पर्नेछन् । साँघुरो चौडाइ क्षेत्रफल भएको खदरा र सिंघिया खोलामा हरेक वर्ष आउने बाढीले गर्दा बुढीगंगा– १ र विराटनगरको तटीय क्षेत्रमा बसोवास गर्ने दर्जनौँ घरपरिवार हरेक वर्ष विस्थापित हुँदै आएका छन् । 

बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा र वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्लेले निकै मिहिनेत गरेर सूर्य नेपाल र आरती स्ट्रिप्समार्फत स्रोत जुटाउन सफल भएपछि वर्षौैँदेखि डुबानमा पर्दै आएको जग्गालाई उकास गराउन खोजेको, तर केही स्थानीयले बुझ्दैनबुझी विरोध गरेको बताए । ‘कसैले पनि विकासको काममा विरोध गर्न पाउँदैन, जे–जसरी होस् उपभोक्ता समितिले निर्माण कार्य अगाडि बढाएर छाड्छ,’ गाउँपालिका अध्यक्ष थापाले भने ।

See More On

सुझावित समाचार