इंग्ल्यान्डका डिफेन्डर केयल वाल्करले इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी छाड्ने योजना बनाएका छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले वाल्कर बाहिरिन चाहे क्लबले नरोक्ने प्रस्ट पारेका छन् । जनवरीको अन्त्यतिर खेलाडी विन्डो खुल्नेछ । यसै समयमा वाल्करले आफूलाई खेलाडी विन्डोमा समावेश गर्न सक्छन् । एफए कपको तेस्रो चरणमा सिटीले लिग २ को साल्फोर्डमाथि ८–० को जित निकाल्दा वाल्करलाई बेन्चमा राखेको थियो । सिटीले लगातार चारपटक प्रिमियर लिग जित्दा उनी मुख्य डिफेन्डर थिए ।
३४ वर्षीय वाल्कर र सिटीबिच अझै १८ महिनाको सम्झौता बाँकी छ । प्रशिक्षक पेपले आफ्ना कप्तानले व्यवस्थापकसँग बाहिरिने प्रस्ताव राखेको जनाएका छन् । ‘दुई दिनअघि वाल्करले आफू बाहिरिने जानकारी सिटीको व्यवस्थापकसँग राखेको सुनेको थिएँ, अब हामीले केही पनि गर्न सकिने अवस्था छैन,’ पेपले भने, ‘हामी यो निर्णयबाट स्तब्ध भएका छौँ, अझै पनि डेढ वर्षको सम्झौता बाँकी छ ।’
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट छिट्टै बिदा हुने तयारीमा रहेका वाल्करले सिटीसँग केही असमझदारी नभएको बताएका छन् । ‘सिटी र प्रशिक्षकसँग केही नराम्रो छैन, अहिले नयाँ भविष्य खोज्नकै लागि यो निर्णयमा पुगेको हुँ,’ वाल्करले भने, ‘सिटीमा युवा खेलाडीलाई मौका दिने मेरो उद्देश्य हो ।’ प्रशिक्षक पेपले पछिल्ला केही वर्ष राइट–ब्याकका मुख्य खेलाडीका रूपमा वाल्कर रहेको जनाएका छन् ।
‘केही वर्षयता राइट–ब्याक क्षेत्रमा वाल्करप्रति विश्वास गर्यौँ, अब उनको स्थान अहिले लिन गाह्रो पर्न सक्छ,’ पेपले भने, ‘सम्भवतः उनले पनि राष्ट्रिय टोलीबाट बिदा हुन चाहेका छन्, यो यसैको तयारीका रूपमा लिएको छु ।’ सन् २०२३ को सिजनमा सिटीले युरोपियन फुटबलमा ट्रेबल उपाधि जितेको थियो । त्यसैवेला नै वाल्करले सिटी छाड्ने मनसाय बनाएका थिए । तत्काल प्रशिक्षक पेपले उनलाई रोकेका थिए ।
युवा खेलाडी भित्र्याउँदै सिटी
दुई वर्षअघि वाल्करलाई जर्मन क्लब बायर्न म्युनिखले प्रस्ताव राखेको थियो । प्रशिक्षक पेपले उनको पारिश्रमिक वृद्धि गर्ने वाचा गरेपछि वाल्कर सिटीमा रहेका हुन् । गत साता पेपले सिटीको संरचना बलियो बनाउन नयाँ खेलाडीको आवश्यकता भएको घोषणा गरेका थिए । दुई महिना युरोपियन फुटबलमा खराब प्रदर्शन गरेको सिटीको पुनर्निर्माण गर्न आवश्यक भएको पेपको भनाइ छ ।
वाल्करले पनि प्रशिक्षककै योजनाअनुसार आफूले अगाडि नै सिटी छाड्न लागेको एजेन्सीहरूले जनाएका छन् । सिटीले उज्वेकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी अब्दुकोडिर खुसानोभलाई ३३.६ मिलियन पाउन्ड प्रस्ताव पठाएको छ । ब्राजिलका युवा डिफेन्डर भिक्टर रेइज पनि सिटीले भित्र्याउने प्रयास गरेको छ । प्रशिक्षक पेपले खेलाडी विन्डोमा फ्र्यांकफर्टका ओमान मामोसलाई पनि प्रस्ताव पठाइसकेका छन् ।