बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ । माघेसंक्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा महोत्सव सुरु भएको हो ।
चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट ट्रेड रुट’का रूपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्त्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउँदै उनले १० करोडबराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको बताए ।
सामानको खरिद–बिक्री र मनोरञ्जनका लागि मात्र नभएर जिल्लाको समग्र सम्भावना उजागर गरी लगानी भित्र्याउने, आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्थानीय उत्पादनको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए।
जिल्लाको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग–व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको उनले जानकारी दिए ।
स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोकदोहोरी गीत, कलाकारको प्रस्तुति महोत्सवका आकर्षक रहने जिल्लास्थित उद्योग वाणिज्य संघले जनाएको छ । आज पुर्ख्याैली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लो नृत्य, जातजाती, जनजाति भाँकी प्रदर्शनी आयोजना गरिएको छ ।
उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले भने, ‘दुई सय वर्ष पहिले बेनीमा चीन र भारतसम्मका मानिस माघेसंक्रान्ति मेलामा किनमेलका लागि आउने गर्दथे । सोही सिलसिलामा काठमाडौं उपत्यकाका नेवार समुदाय बेनीमा बसाइँ सरेर आएका र यहाँ बस्ती बसेको विश्वाससहित बेनी र माघेसंक्रान्ति मेलाको विशेष सांस्कृतिक महत्त्व छ ।’
यसअघि ०५८ देखि ०७८ सम्म सातपटक म्याग्दी महोत्सव आयोजना भएको थियो । परम्परागत माघेसंक्रान्ति मेलालाई निरन्तरता दिन म्याग्दी र कालीगण्डकीको दोभानमा पर्ने बेनी बजारमा महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।