नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबिएफ)को दोस्रो बैठकले दुवै देशको व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । दुई देशबिचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले काठमाडौंमा भएको बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउनेलगायतका विषयमा सहमति भएको छ । बैठकमा भएका सहमतिका विषयलाई शनिबार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनील बर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गरेका हुन् ।
मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबिचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले दुवै देशबिच आयात–निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरी काम गर्नुपर्ने धारणा राखे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयहरूको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए । भारतका वाणिज्य सचिव सुनील बर्थवालले जेबिएफमा उठेका एजेन्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबिचका आर्थिक मुद्दाहरूमा यो बैठक महŒवपूर्ण रहेको बताउँदै यहाँ उठेका विषयमा सहजीकरणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।
सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारतबिच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताइन् । यस्तै, भारतीय पक्षबाट एन सुनील कुमारले नेपाल भारतबिच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताए । मञ्चको अर्को बैठक भारतको नयाँदिल्लीमा आयोजना गरिने सहमति भएको छ ।