काठमाडौंको कमलादीमा स्काइवाक टावर सञ्चालन गर्दै आएको वन्डर्स नेपाल प्रालिले आइपिओ जारी गर्ने भएको छ । शुक्रबार बसेको कम्पनीको सातौँ वार्षिक साधारणसभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
प्रवेन्द्र पोखरेलको अध्यक्षतामा कमलादीमा बसेको वार्षिक सधारणसभाले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीको आगामी व्यावसायिक कार्ययोजनासमेत सर्वसम्मत रूपमा पारित गरेको छ । साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक पदमप्रसाद न्यौपानले भावी कार्यायोजनाबारे प्रस्ट पारेका थिए ।
कम्पनीले सञ्चालक समितिको पुनर्गठन गरी अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेलाई मनोनयन गरेको छ । नवनियुक्त प्रबन्ध निर्देशक पाण्डेले स्काइवाक टावरको जिम्मेवारी बहन गर्नुलाई एक नयाँ अवसरका रूपमा लिएको बताए ।
‘स्काइवाक टावरमा ३६० डिग्री भ्यु देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र शीघ्र सञ्चालनमा ल्याउनेछौँ,’ पाण्डेले भने, ‘अब सिटी बन्जी जम्पका साथै डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने अठोट छ । स्काइवाक टावरलाई काठमाडौंकै मुख्य पर्यटकीय स्थलका रूपमा स्थापित गर्दै लैजाने प्रतिबद्धता पनि जनाए ।