भेनेजुयलाका राष्ट्रपतिका रूपमा निकोलस मदुरोको तेस्रोपटक शपथ

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले ६ महिना लामो चुनावी विवादपछि अन्ततः तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । १२ वर्षसम्म एकछत्र शासन गरेका मदुरोको कार्यकाल आर्थिक र सामाजिक संकटले भरिए पनि उनले पुनः तेस्रो कार्यकालका लागि शपथ लिएका हुन् ।

२०१३ देखि राष्ट्रपति रहेका मदुरोलाई भेनेजुयलाको निर्वाचन अधिकारी र सर्वोच्च अदालतले जुलाईको चुनावको विजेता घोषित गरेपछि उनको पुनः राष्ट्रपति बन्ने बाटो खुलेको हो । तर, उनको विजयको पुष्टि गर्ने विस्तृत तथ्यांक भनै कहिल्यै प्रकाशित गरिएन । विपक्षीले मतपत्रको तथ्यांकले उनका प्रतिस्पर्धी उम्मेदवार एडमन्डो गोन्जालेज भारी मतले विजयी भएको देखाए पनि मदुरोले नै अन्ततः राष्ट्रपतिको शपथग्रहण गरेका हुन् ।

अन्तर्राष्ट्रिय चुनाव पर्यवेक्षकले मतदान लोकतान्त्रिक नभएको आरोप लगाएका छन् । चुनावपछि मदुरो सरकारले विपक्षी नेता गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैले गोन्जालेज स्पेनमा शरण लिएर बसेका छन् भने उनकी सहयोगी मारिया कोरिना माचाडो भेनेजुयलामै लुकेर बसेकी छन्। यसैबिच अमेरिकी जो बाइडेन प्रशासनले लागुऔषध ओसारपसारको आरोपमा मदुरोलाई पक्राउ वा दोषी ठहराउन मद्दत गर्ने विषयमा जानकारी दिने व्यक्तिलाई साढे दुई करोड अमेरिकी डलर पुरस्कार दिने बताएको छ।

यसअघि बाइडेन प्रशासनले मदुरोलाई पक्राउ गर्न सघाउने व्यक्तिलाई साढे एक करोड दिने भनेको राशी बढाएर साढे दुई करोड अमेरिकी डलर पुर्याएको हो। यस्तै, बाइडेन प्रशासनले आन्तरिकमन्त्री डिओस डाडो काबेलोको जानकारी दिनेलाई साढे दुई र रक्षामन्त्री भ्लादिमिर पाद्रिनोको जानकारी दिनेलाई साढे एक करोड अमेरिकी डलर दिने बताएको छ। अमेरिकाले २०२० मा मदुरोसहित अन्य व्यक्तिलाई लागुऔषध र भ्रष्टाचारको आरोपमा अभियोग लगाएको थियो। मदुरोले भने ती आरोप अस्वीकार गर्दै आएका छन्। 

See More On

सुझावित समाचार