दुईदिवसीय क्रिकेटको पहिलो खेलमा मयन यादवले शतक बनाउँदा स्पिनरद्वय सन्दीप लामिछाने र साहब आलमले लिए समान १० विकेट, दुवै खेल बराबरीमा सकियो
ओपनर मयन यादवको शतक प्रेरित मधेश प्रदेशले जय ट्रफी दुईदिवसीय एलिट कपको पहिलो खेलमा बागमती प्रदेशविरुद्ध बराबरी खेलेको छ । दोस्रो दिन १६४ रनको लक्ष्य पछ्याएको बागमतीले खेल सकिँदा ६ विकेट गुमाएर ९७ रन बनाएपछि दुवै टोलीले अंक बाँडेका हुन् । दोस्रो दिनको दोस्रो इनिङ्समा १८ वर्षीय मयनले १०२ रन बनाए । जय ट्रफीमा पहिलो शतक बनाउने खेलाडी बन्दा मयनले १०८ बलमा १२ चौका र २ छक्का हिर्काए ।
दायाँहाते खेलाडीले प्रधानमन्त्री कपमा सुदूरपश्चिमविरुद्ध पनि शतक बनाएका थिए । प्रतियोगिताको पहिलो दिन स्पिनर हाबी हुँदा कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेका थिएनन् । दोस्रो दिन मयनले जनकपुरको रामजानकी मैदानमा शतक बनाए । यता, वीरगन्जको नारायणी रंगशालामा आर्मीका सोमपाल कामीले अर्धशतक बनाएका छन् ।
शतक बनाएपछि मयनले योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए ‘शतक प्रहार गर्दा खुसी लागेको छ । सुरुदेखि नै यो खेलमा शतक बनाउने मुड थियो । माइन्ट पोजेटिभ राखेर खेल्दा शतक बनाउन सफल भए,’ मयनले शतक बनाएपछि नयाँ पत्रिकासँग भने, ‘जस्तो बल आउँछ त्यही रणनीतिअनुसार पनि खेलेको हो । त्यही भएर बल र रन उस्तैउस्तै हुन पुग्यो । यहाँको मैदान डे क्रिकेटका लागि भएकाले पनि राम्रो खेल भइरहेको छ ।’
पहिलो दुवै खेल बराबरी
प्रतियोगिताको पहिलो दुवै खेल बराबरीमा सकिएका छन् । सोमबार पहिलो खेलमा बागमती र मधेश प्रदेशले अंक बाँडेका हुन् । मधेशका मयनले शतक बनाउँदा बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक १० विकेट लिए । पहिलो इनिङमा पाँच विकेट लिएका सन्दीपले दोस्रो इनिङ्समा पनि ५ विकेट लिएका हुन् । यता, वीरगन्जको नारायणी रंगशालामा भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले बराबरी गरेका हुन् । आइतबारदेखि सुरु भएको पहिलो खेल निर्धारित समयसम्ममा नतिजाविहीन हुनपुगेको हो ।
भएको दुई दिनको खेलमा आर्मीले पुलिसलाई दिएको लक्ष्य निर्धारित समयमा पुर्याउन सकेन । दोस्रो इनिङ्समा १८२ रनको लक्ष्य पाएको पुलिसले दोस्रो दिनको खेल सकिँदा ५ विकेटको क्षतिमा ८८ रन बनाएपछि अंक बाँडिएको हो । पुलिसका लागि अर्जुन साउद १९ रन र शंकर रानाले ५ रन बनाएर अविजित रहे । यसअघि अमित श्रेष्ठले ३६ रन, दिलीप नाथले १० रन, कुशल भुर्तेलले ६ रन, रसिद खान १० रन र गुल्सन झाले १ रन बनाएका थिए ।
आर्मीका आकाश चन्दले ७ ओभरमा २४ रन खर्चिएर २ विकेट पाए । साहब आलमले १८ ओभरमा ३२ दिँदै २ विकेट लिए । यसअघि पहिलो इनिङ्समा उनले एक्लै आठ विकेट लिएका थिए । उनी सन्दीपसँगै एकै खेलमा १० विकेट लिने दोस्रो खेलाडी बनेका छन् । बिहान ९ बजे सुरु भएको दोस्रो दिनको खेलमा पुलिस १२५ रनमा अलआउट भएपछि आर्मी ब्याटिङमा आएको थियो । सोमपाल कामीको ८२ रन मद्दतमा आर्मीले १७५ रन बनायो । समग्रमा पुलिसले १७२ रनको लक्ष्य पाएको थियो । यसअघि पहिलो इनिङ्समा पुलिसका गुल्सन झा अर्धशतकबाट ३ रनले चुकेका थिए । ५४ बलमा ४७ रन बनाएका गुल्सनलाई साहबको बलमा कुशल मल्लले क्याच गरेका थिए ।