वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका- १० का  २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका- ११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुलसीपुर उपमहानगरपालिका- ५ की ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका- ९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका- ९ बाट र प्रभालाई ललितपुर महानगरपालिका- १० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एकजना पीडितबाट रु. ६ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एकजना पीडितबाट रु. सात लाख ५० हजार र प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै एकजना पीडितबाट रु. सात लाख आठ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएकाे छ ।
 

सुझावित समाचार