संविधान संशोधन छिट्टै हुन्छः भट्टराई

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले कांग्रेस र एमालेको संयुक्त सरकारले छिट्टै नै सहमतिमा नेपालको संविधान संशोधन गर्ने बताएका छन् । 

शनिबार ताप्लेजुङमा आयोजित कार्यक्रममा संविधान संसोधन गर्न दुवै पार्टीको सहमति, सहकार्य हुने र संशोधनले संघीय लोकतान्त्रिक गणतन्त्र अझ मझबुत बनाउने सचिव भट्टराईले दाबी गरे । 

जनताको सहभागितालाई सुनिश्चित गर्नु, सबैको पहिचानलाई सुनिश्चित गर्नु, सबै तहका सरकारलाई काम गर्ने वातावरण बनाउन पनि संविधान संसोधन गर्न लागिएको सचिव भट्टराईले बताए । 

कानुनले कानुनलाई अल्झाइरहेको बताउँदै हिउँदे अधिवेशनमा धेरै कानुन संसोधन गरिने सचिव भट्टराईको भनाइ थियो । उनले बाटो खन्न जाँदा वनको कानुनले अल्झाउने, वनमा काम गर्न गयो बाटोको कानुनले अल्झाउने भएकाले धेरै कानुनलाई संसोधन गरेर सहज वातावरण बनाइने बताए।

संसदमा विचाराधीन १९ वटा विधेयकलाई आगामी हिउँदे अधिवेशनमा पास गर्ने बताउँदै ०८४ सम्म कुनै हालतमा हलको सत्ता सहकार्य नछुट्नेसमेत सचिव भट्टराईले जनाए । सचिव भट्टराईले संसद नियमावली संसोधन गरेर भए पनि एउटा विधेयक संसदमा टेबल भएको तीन महिनाभित्र पास गरेर जाने वातावरण बनाउने समेत बताए । कानुनहरू बन्न नपाउदा प्रदेश, स्थानीय तहमा ठुलो समस्या आएको उनको भनाइ छ । 

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै देश र जनताको लागि अहिलेको सरकार कटिबद्ध रहेको सचिव भट्टराईले जिकिर गरे । 
 

सुझावित समाचार