कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दापछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन्। नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई आज पोखरामा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्।
कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दापछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औँल्याए। 'आमकार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन। कांग्रेसको ओज र स्ट्रेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ। टुलुटुलु हेरेर बस्नु भएन। कांग्रेसको ओज घटाउन हुन्न भनेर गम्भीर बन्नुपर्यो,' महरले भने।
गठबन्धन र देशको भावनाविपरीत कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेट गर्न सक्नुपर्ने उनको भनाइ छ। 'सरकारसँग संयन्त्रले धेरै डिभेट गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ। त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ। यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस्,' उनले भने।
साथै, समावेशिताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरश: पालना हुनुपर्ने महरले बताएका छन्। संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए। 'संघीयताभित्रको समावेशिता कार्यान्वयनका लागि संविधानको अक्षरश: पालना हुनुपर्छ। आवश्यक कानुन तयार पारिनुपर्छ। त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ। समावेशिताको आसय र मानसिकताअनुसार राजनीतिक दलहरूले काम गर्नुपर्छ,' उनले भने। उनले यस्तो गर्न सके मात्र सबैलाई संघीयता र समावेशिताप्रतिको विश्वास बढ्ने बताएका छन्।