सन् २०२४ मा धेरै कमाउने १० फुटबलर

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

अमेरिकाको चर्चित म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२४ का सर्वाधिक कमाइ गर्ने फुटबलरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । साउदी प्रो लिगको अल नासरमा आबद्ध रोनाल्डोले गत वर्ष २६२ मिलियन पाउन्ड कमाएका छन् । दोस्रो स्थानमा अर्जेन्टिनाका लियोनल मेसीले गत वर्ष १२३ मिलियन पाउन्ड कमाए । फोर्ब्सले खेलाडीको आम्दानीको मुख्य आधार क्लबसँग वार्षिक सम्झौता, प्रतिसाताको पारिश्रमिक, विश्वचर्चित कम्पनीसँगको सम्झौतालगायतलाई मानेको छ ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
क्लब : अल नासर, कमाइ : २६२ मिलियन पाउन्ड

दुई दशकयता पहिलोपटक बालो डी ‘अर’ अवार्डको मनोनयनमा नपरेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो गत वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । फोब्सका अनुसार उनले सन् २०२४ को वर्षमा दुई सय ६२ मिलियन पाउन्ड आर्जन गरे । गत अगस्टमा उनले व्यक्तिगत युट्युब च्यानलसमेत सार्वजनिक गरेका थिए । सिआर सात नामको युट्युब च्यानल एक दिनमै १० लाखले फलो गरी कीर्तिमान बनाएको थियो । अहिले यो बढेर एक अर्ब पुगेको छ । ३९ वर्षीय रोनाल्डोले साउदी प्रो लिगबाट मात्र वार्षिक दुई सय चार मिलियन पाउन्ड लिने गर्छन् । यसका साथै उनको आम्दनीको मुख्य स्रोत नाइक, भेन्चुअर्स तथा विश्व प्रसिद्ध होटेलसँगको साँठगाँठ हो ।

लियोनल मेसी (अर्जेन्टिना) 
क्लब : इन्टर मियामी, कमाइ : १२३ मिलियन पाउन्ड 

सन् २०२४ को वर्ष मेसीलाई सुखद रह्यो । उनले लगातार दोस्रोपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाए । यस सिजनमा मेसीले डेभिड बेकह्यामको लागनीमा रहेको इन्टर मियामीमा उत्कृष्ट प्रदर्शन गरेका छन् । यद्यपि, उनले इन्टर मियामीबाट खासै ठुलो मोटो रकम लिएका छैनन् । तर, उनी गत वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलको सूचीमा दोस्रो स्थानमा छन् । उनको मुख्य आम्दानी स्रोत नै विभिन्न कम्पनीसँगको ब्रान्ड एम्बासडरका रूपमा सहकार्य गर्नु नै हो । पछिल्लो समयमा उनी एडिडास र एप्पलसँग आबद्ध छन् । उनको इन्स्टाग्राममा अहिलेसम्म पाँच सय मिलियन फलोअर्स छन् । मेसीले आफ्नो एकल लगानीमा युरोपमा होटेल खुलेका छन् । 

नेमार (ब्राजिल)
क्लब : अल हिलाल, कमाइ : १०१ मिलियन पाउन्ड

ब्राजिलका लिजेन्ड नेमार जुनियर फर्ममा छैनन् । डेढ वर्षअघि फ्रेन्च जर्मेन पेरिस (पिएसजी) छाडेर साउदी प्रो लिगमा आबद्ध भएका नेमारले खासै गतिलो प्रदर्शन गरेका छैनन् । अधिकांश समयमा उनी चोटका कारण नै मैदानबाहिर छन् । तर, अल हिलालले उनलाई वार्षिक मोटो रकम दिँदै आएको छ । यसै कारण उनी गत वर्षको सर्वाधिक कमाइ गर्ने तेस्रो फुटबलर बने । अल हिलालमा उनको सम्झौता सन् २०२५ को मध्यसम्म छ । ३२ वर्षीय नेमार विश्व प्रसिद्ध ब्रान्ड पुमासँग आबद्ध छन् ।

करिम बेन्जिमा (फ्रान्स)
क्लब : अल इतिहाद, कमाइ : ९५ मिलियन पाउन्ड

साउदी प्रो लिगमा युरोपियन फुटबलमा चर्चा कमाएका खेलाडीको आगमन बढ्दो छ । यसै क्रममा रियल म्याड्रिडका करिम बेन्जिमा पनि साउदी प्रो लिगमै भविष्य खोज्दै सन् २०२३ मा अल इतिहादमा आबद्ध भए । पछिल्लो पुस्तामा विश्वकै उत्कृष्ट स्ट्राइकरका रूपमा आफूलाई परिचित गराएका बेन्जिमाले गत वर्ष ९१.५ मिलियन पाउन्ड आर्जन गरे । उनको मुख्य आम्दानी स्रोत नै अल इतिहादबाट प्राप्त गर्ने वार्षिक पारिश्रमिक हो । यसबाहेक उनले मैदानबाहिर ३.५ मिलियन पाउन्ड कमाएका थिए । 

केलियन एम्बाप्पे (फ्रान्स) 
क्लब : रियल म्याड्रिड, कमाइ : ८३ मिलियन पाउन्ड

फ्रान्सका युवा स्ट्राइकर एम्बाप्पे आफ्नो सपनाको क्लब रियल म्याड्रिडमा गत वर्ष आबद्ध भए । लगभग आधा दशक पिएसजीमा बिताएका एम्बाप्पेले च्याम्पियन्स लिग जित्ने उद्देश्यका साथ रियलसँग सम्झौता गरेका हुन् । गत वर्ष उनकै प्रेरणादायी प्रदर्शनमा फ्रान्सले युरो च्याम्पियनसिपमा सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । गत वर्ष पाँचौँ सर्वाधिक कमाउने फुटबलर बनेका एम्बाप्पेले क्लबबाट वार्षिक रूपमा ६५ मिलियन पाउन्ड लिएका छन् । उनको मैदानबाहिर १८ मिलियन पाउन्ड रह्यो । 

एर्लिङ हाल्यान्ड (नर्वे)
क्लब : म्यानचेस्टर सिटी, कमाइ : ५५ मिलियन पाउन्ड

नर्वेका हाल्यान्डको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले एकै वर्ष प्रिमियर लिग, एफए कप तथा च्याम्पियन्स लिग जित्यो । सन् २०२२ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट सिटीमा आएका हाल्यान्डले सुरुवातदेखि नै गज्जबको खेल खेलिरहेका छन् । सन् २०२४/२५ को सिजनमा सिटीको प्रदर्शन सन्तोषजनक छैन । यद्यपि, नर्वेका स्ट्राइकर युरोपका उदीयमान युवा स्ट्राइकर हुन् । उनी सन् २०२४ को सिजनमा सर्वाधिक कमाइ गर्ने छैटौँ फुटबलर पनि हुन् । अहिले उनी मेसी, रोनाल्डो र एम्बाप्पेले युरोपमा राखेका कीर्तिमान तोड्ने अभियानमा छन् । 

भिनिसियस जुनियर (ब्राजिल)
क्लब : रियल म्याड्रिड, कमाइ : ५० मिलियन पाउन्ड 

ब्राजिलका युवा स्ट्राइकर भिनिसियस जुनियर फोब्सले सार्वजनिक गरेको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा नयाँ हुन् । २४ वर्षीय ब्राजिलियन खेलाडीले विश्वकै धनी क्लब मानिने रियल म्याड्रिडका लागि प्रेरणादायी खेल प्रदर्शन गरिरहेका छन् । समर्थकले उनलाई रियलका गोल मेसिन भन्छन् । छोटो समयमै उनले विश्वप्रसिद्ध चर्चित कम्पनीसँग साँठगाँठ गर्न सफल भए । उनले सबैभन्दा ठुलो ब्रान्डका रूपमा पेप्सीसँग सम्झौता गरेका छन् । 

मोहमद सलाह (इजिप्ट)
क्लब : लिभरपुल, कमाइ : ४९ मिलियन पाउन्ड 

इंग्लिस प्रिमियर लिगको २०२४/२५ को सिजनमा लिभरपुलको प्रदर्शन अचम्मको भइरहेको छ । अहिले लिभरपुल उपाधि जित्ने अभियानमा अगाडि बढेको छ । उसलाई रोक्न अन्य क्लबहरू धेरै पछाडि छन् । साबिक चारपटकको विजेता म्यानचेस्टर सिटी शीर्ष पाँचभित्र अटाएको छैन । लिभरपुलको सानदार प्रदर्शनमा स्ट्राइकर सलाह नै हुन् । लिभरपुलको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा उनी परेका छन् । उनको सोसल मिडियामा एक सय मिलियन फलोअर्स पुगेका छन् । भोडाफोन र एडिडाससँग उनले सम्झौता गरेका छन् । 

साडिओ माने (सेनेगल)
क्लब : अल नासर, कमाइ : ४८ मिलियन

दक्षिण अफ्रिकी फुटबल राष्ट्र सेनेगलका स्ट्राइकर माने गत वर्ष सर्वाधिक कमाइन गर्ने फुटबलमा नवौँ स्थानमा रहे । फोब्सका अनुसार उनले ४८ मिलियन पाउन्ड कमाइ गरेका छन् । अहिले उनी साउदी प्रो लिगअन्तर्गत अल नासरबाट खेलिरहेका छन् । अल नासरबाट प्राप्त आधीभन्दा बढी रकम उनले सामाजिक कार्यमा खर्च गरेका छन् । सेनेगलमा उनले अस्पताल, पेट्रोल स्टेसन तथा पोस्ट अफिस स्थापना गरेका छन् । अल नासरबाहेक उनले अन्य क्षेत्रबाट खासै आम्दानी गरेका छैनन् । 

केभिन डे ब्रुयने (बेल्जियम) 
क्लब : म्यानचेस्टर सिटी, कमाइ : ३६ मिलियन पाउन्ड 

म्यानचेस्टर सिटीले लगातार चारपटक इंग्लिस प्रिमियर लिग जित्दाका मुख्य खेलाडीका रूपमा केभिन डे पनि एक हुन् । बेल्जियमका यी खेलाडी सम्भवतः अल नासरमा जान सक्ने कुरा चलेको छ । ३३ वर्षीय मिडफिल्डर केभिन डेले सिटीबाट थोरै पारिश्रमिक लिने गरेका छन् । उनको मुख्य आम्दानी स्रोत नै नाइक र म्याकडोनाल्ड हुन् । 

See More On

सुझावित समाचार