गरिब, अशक्त र बेवारिसे बिरामीहरूलाई १० प्रतिशत निःशुल्क उपचार सेवा दिएको दुरुस्त विवरणसहितको अभिलेख पठाउन कोशीका निजी अस्पतालहरूलाई कोशी सरकारको स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंका अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ अनुसार हरेक अस्पतालहरूले उपचारमा आएका गरिब, अशक्त र बेवारिसे बिरामीलाई १० प्रतिशत शय्या नै छुट्याएर सेवा दिनुपर्ने भए पनि पालना नभएकाे गुनासो आएपछि सबै अस्पताललाई विवरणसहितको अभिलेख पठाउन निर्देशन गरिएको हो ।
मन्त्रालयले १८ पुसमा कोशी प्रदेशका सबै निजी अस्पताललाई पत्राचार गरी गत र चालू आर्थिक वर्षमा उपचारका लागि आएका र आउने विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गरेको विवरण, अभिलेख तथा प्रतिवेदन मासिक, चौमासिक र वार्षिक रूपमा तयार गरी पेस गर्न निर्देशन गरेको छ ।
निजी अस्पतालहरूले शय्या छुट्याएर निःशुल्क सेवा दिनुपर्ने बिरामीलाई उपचार गर्ने गरेका छैनन् । गरेको भनेर विवरण बुझाउने अस्पतालहरूले पनि दुरुस्त अभिलेख पठाउने गर्दैनन् । ‘जानकारी लिन प्रदेशभरिका सबै निजी अस्पतालहरूलाई निर्देशन गरेका हौँ,’ जनस्वास्थ्य प्रशासक प्रसाईंले भने ।
निजी अस्पतालहरूले निःशुल्क तथा आंशिक सेवा लिने बिरामीहरूको व्यवस्थित रूपले अभिलेख राख्ने र सोको विवरण मासिक, चौमासिक र वार्षिक रूपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्नुपर्ने र सेवा लिएका व्यक्तिहरूको विवरण देखिने गरी टाँस्नुपर्ने व्यवस्था पनि छ ।
ऐनअनुसार १० प्रतिशत निःशुल्क सेवा नदिने निजी अस्पताल स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को परिच्छेद ११ मा सञ्चालन अनुमति नवीकरण नहुनेदेखि खारेजी म्म हुन सक्नेछन् ।