मधेशकेन्द्रित दलबिच एकताका लागि तयार छौँ : यादव

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

जनमत पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले मधेशी दलहरूसँग एकीकृत हुन तयार रहेको  बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले यसका लागि प्रतिनिधिसभा चुनावलगत्तैदेखि प्रयासरत रहेको बताए। 

‘हाम्रो पार्टी अध्यक्ष सिके राउतले जसलाई पराजित गर्नुभयो, उहाँसँग पनि हामीले चुनावपछि एक भएर अगाडि बढ्ने कुरा गरेका थियौँ,’ उनले भने। हाल ठुला दुई दल मिलेर सरकार र संविधान संशोधनको कुरा गरिरहँदा मधेशकेन्द्रित दलहरू एक हुनुपर्ने उनको भनाइ थियो। 

विगतमा मधेशी दलहरू पद र शक्तिका लागि विभाजित हुँदा कमजोर बनेको भन्दै उनले अबको एकता बलियो हुनुपर्ने धारणा राखे। ‘कसैको राजनीतिक जीवन बचाउन, पार्टी र नेताको लागि, कसैलाई मन्त्री बनाउन अबको एकता हुँदैन। मधेशी जनताको लागि अबको एकता हुनेछ। हामी यसमा सधैँ एकसाथ रहनेछौँ,’ यादवले भने। 

मधेशी एकता समाजले 'मधेशी शक्तिहरूबिच सहकार्य : आवश्यकता र चुनौती' विषयक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जनता समाजवादीका महासचिव मोहम्मद इस्तियाक राईले मधेशी मात्र नभई सबै उत्पीडित वर्ग एक ठाउँमा आउनुपर्ने बताए। 

संविधानमा परिवर्तन चाहने सबै एकीकृत भए मात्र आवाज बलियो हुने, तर मधेशमा धार्मिक, जातीयजस्ता विभाजन देखिएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने राईको भनाइ थियो। ‘हामी मधेशीका साथै देशभरिका उत्पीडित सबै समुदाय एकैठाउँ उभिनुपर्छ,’ उनले भने। 

कार्यक्रममा बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन रञ्जनले मधेशी दलले मधेशभित्रैका उत्पीडितलाई हेयको दृष्टिले हेरेको गुनासो गरे। आफ्ना माग पूरा भएपछि पिँधमा रहेका मधेशी समुदायसँग संवाद नगरेको र उनीहरूको मागबारे गम्भीर नभएको उनको भनाइ थियो। 

मधेश प्रदेश सरकारमा पनि भूमिहीन र दलितको प्रतिनिधित्वबारे उनले प्रश्न गरे। दलित र पहुँच नभएकाहरूको उजुरीसमेत प्रहरीले लिन नमान्ने गरेको र नेताहरूको स्वीकृतिपछि मात्र कारबाही गर्ने गरेको गुनासो उनले गरे। मधेश सरकार गठनपछि पनि थुप्रै हत्या, बलात्कारजस्ता घटना हुँदा त्यसका लागि सरकारमा रहेका मधेशकेन्द्रित दलहरूबाटै पनि कुनै प्रतिक्रिया नआएको उनको भनाइ थियो। ‘हामी अहिले संसदमा छैनौँ, तर सडकबाट सक्दो सहयोग गर्नेछौँ,’ उनले भने।

सुझावित समाचार