लुम्बिनी प्रदेश सभाको पाँचौँ (हिउँदे) अधिवेशन मंगलबार सुरु भएको छ। अधिवेशनको पहिलो बैठकमा दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूले जनतामा छाएको निराशा हटाउने गरी सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले प्रदेश सभाका बैठकलाई बढी प्रभावकारी बनाउनुपर्नेदेखि विषयगत समितिहरूको सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जनतामा छाएको नैराश्यतालाई उत्साहमा परिणत गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले विषयगत समितिहरू अनुगमनमा जाने, काम योजनाहरू हेर्ने वातावरण बनाउनुपर्ने भन्दै कमी-कमजोरी सच्चाउने गरी अगाडि बढ्नुपर्ने बताए।
कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले जनतामा निराशा हुने काम गर्न नहुने धारणा राखिन्। माओवादीका प्रमुख सचेतक इन्द्रजित थारूले प्रदेशलाई आत्मनिर्भर गराउने गरी कामअगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। बैठकमा राप्रपाकी मीनाकुमारी श्रेष्ठ, लोसपाका सन्तोषकुमार पाण्डे, एकीकृत समाजवादीकी भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाकी तारा थापालगायतले बोल्दै सरकारका काम प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।
कार्यव्यवस्था परामर्श समिति पुनर्गठन
बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाको कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको जानकारी गराएका थिए। प्रदेश सभा बैठकमा दिइएको जानकारीअनुसार समितिमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको तर्फबाट समानुपातिक प्रतिनिधित्व हुने गरी समिति पुनर्गठन गरिएको छ। समितिमा मनोनीत सबै सदस्य प्रदेश सभा बैठकबाट अनुमोदन भएका छन्।
मंगलबारको बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट प्राप्त प्रदेश सभा बैठक आहृवानसम्बन्धी पत्र, प्रमाणीकरणका लागि पठाइएका विधेयक फिर्तासम्बन्धी पत्र सभामुखले पढेर सुनाएका थिए।