सूर्यदर्शन सहकारी ठगी प्रकरण : थुनछेक बहस सुरु

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

पोखरास्थित सूयर्दशन सहकारी ठगी प्रकरणमा जोडिएका र प्रहरी हिरासतमा रहेका सातजनाको कास्की जिल्ला अदालतमा बयान सकेर मंगलबारबाट थुनछेक बहस सुरु भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रहरी हिरासतमा रहेका उनीहरूसँगै ४४ जनाविरुद्ध ७ पुसमा अदालतमा अभियोग-पत्र दर्ता गरेपछि ८ पुसदेखि सुरु भएको बयान मंगलबार सकिएसँगै थुनछेक बहस सुरु भएको हो।

थुनछेक बहसपछि हिरासतमा रहेका सातजनालाई धरौटी तारेखमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश अदालतले गर्नेछ। न्यायाधीश नीतिज राईको इजलासमा उनीहरूको बयान सकेर राईकै इजलासमा थुनछेक बहस सुरु भएको हो।

मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट अभियोगको विषयमा सामान्य जानकारी इजलासलाई गराएपछि इजलास स्थगित भएको थियो। थुनछेक बहस बुधबार पनि चल्नेछ।

अभियोग-पत्र दर्ता भएका ४४ जनामध्ये हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयरधनी पूर्वडिआइजी छविलाल जोशी, जिबी राईको साझेदार एवं सहयोगी लीला पछाई, नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं सेयरधनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

सातजनामध्ये लामिछाने, जोशी, खनाल र पछाईंलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ भने अन्य तीनजनालाई सहकारीको बचत रकम ठगीको अभियोग लगाइएको छ।
                                                                                                                                                                                                                                                                            

सुझावित समाचार