नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७औँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले पाएको छ। थापाथली चेस पार्कले फाइनलमा ललितपुर स्पोर्टस् क्लबलाई पछि पार्दै उपाधि हात पारेको हो।
प्रतियोगिताको विजेता बनेसँगै थापाथली चेसपार्क क्लब ह्याट्रिकसहित तेस्रोपटक च्याम्पियन कहलिएको छ। चेसपार्कले नगद दुई लाख पुरस्कार प्राप्त गरेको छ। प्रतिस्पर्धामा आयोजक ललितपुर स्पोर्टस् क्लब उपविजेता बनेको छ। क्लबले एक लाख २० हजार नगद पुरस्कार हात पार्न सफल भएको छ।
प्रतियोगिताको उच्च वरीयता ललितपुर महानगरपालिका टिमले तेस्रो स्थानमा रहँदै नगद ६० हजार प्राप्त गरेको छ भने चौथो स्थान ओगटेका पूर्वच्याम्पियन दोलखा चेस होमले नगद ४० हजार हात पार्न सफल बनेका छन्।
आजै भएको पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले विजेता क्लबलाई सिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरेका छन्।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेललाई आगामी राष्ट्रपति रनिङ सिल्डमा समावेश गर्न निवेदन गर्दै हाल सबै खेल संघभन्दा बढी गतिविधि गरेको संघमा चेस खेल रहेको दाबीसमेत गरेका छन्।
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले सञ्चालन गरेको समारोहमा विशेष अतिथिका रूपमा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, महासंघका उपाध्यक्ष धीरेन बोगटी, उपमहासचिव मोनालिसा खम्बूलगायतको उपस्थिति रहेको थियो।